चिनियाँ नागरिकले भाडामा लिएको घरमा राजश्वको खानतलासी

लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले आज खानतलासी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको हो । चिनिया नागरिकले भाडामा लिएको घरवाट केही बाकसहरू विभागले बरामद गरेको छ । तर, त्यसमा सुन नभेटिएको बताइएको छ । छापा मारेको घरलाई विभागले सिल गरेको छ । राजश्व अनुसन्धान विभागको टोलीले साउन दुई गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद गरेपछि लगातार छापा मारिरहेको छ । विभागले बुधबार बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो । त्यहाँबाट ब्रेक शु बरामद गरिएपनि त्यसमा सुन नभेटिएको बताइएको छ । ब्रेक सु वाट पहिले नै सुन निकालिसकेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । सुन तस्करीमा  संलग्न रहेको आरोपमा हालसम्म १७ जना पक्राउ परेका छन् । उनीहरुलाई हिरासतमा लिएर विभागले थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया