कोशीका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्चले गर्‍यो पदमुक्त

सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार असंवैधानिक रहेको ठहर गरेको छ । मुख्यमन्त्री नियुक्तिमा सभामुखको हस्ताक्षर असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्चले उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गरेको हो । न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले प्रदेश सरकार असंवैधानिक रहेको ठहर गर्दै नयाँ सरकार गठनका लागि परमादेश समेत दिएको छ । सर्वोच्चले साउन १७ गते भित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया प्रारम्भ गर्न पनि परमादेश दिएको हो । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्चमा असार २२ गते रिट निवेदन दर्ता भएको थियो । सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।
 

प्रतिक्रिया