विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री के.पी. शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । 

लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गरेका हुन् । 

बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीबाट प्रस्तुत आगामी चार वर्षका लागि रणनीतिक तथा व्यावसायिक कार्य योजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । यस्तै बैठकमा चालु तथा कार्यान्वयनको चरणमा रहेका, सम्झौता र मूल्याङ्कनका चरणमा रहेका विभिन्न परियोजनाबारे जानकारी गराइएको थियो । प्रधानमन्त्री ओली र प्रमुख कार्यकारी अधिकृत ज्ञवाली नियुक्त भएपछि बोर्डको यो पहिलो बैठक हो ।

बोर्डले सरकारको लगानी सम्बन्धी बजेट र खर्च घट्दो रहेको अवस्थामा निजी क्षेत्र र प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धि गर्नुपर्ने, अन्तर्राष्ट्रिय लगानी सम्मेलनबाट प्राप्त प्रतिबद्धता बमोजिम काम हुनुपर्ने, स्वदेश र विदेशमा लगानी प्रवर्द्धनको काम गर्नुपर्ने, एकल विन्दु सेवा केन्द्रलाई पूर्ण कार्यान्वयनमा ल्याइ छिटो छरितो काम गर्नुपर्नेमा जोड दिएको छ । यस्तै, विद्यमान कानुन संशोधन गरी बोर्डलाई अधिकार सम्पन्न र स्वायत्त बनाउनुपर्ने, प्रदेश र स्थानीय तहमा लगानी सहजीकरणका लागि विशिष्टीकृत केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकले बोर्डको चालु आर्थिक वार्षिकका लागि  १८ करोड ८३ लाख रुपैयाँ बजेट तथा प्रमुख कार्यकारी अधिकृतको कार्यसम्पादन सम्झौता करारका सूचक स्वीकृत गरेको छ । बैठक लगत्तै बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अधिकृत ज्ञवालीबीच कार्यसम्पादन सम्झौता भएको छ । लगानी बोर्डले ६ अर्बभन्दा माथि लगानी भएका परियोजना तथा २०० मेगावाटभन्दा माथि क्षमताका जलविद्युत् परियोजना सहजीकरण गर्दै आएको छ ।
 

प्रतिक्रिया