व्यापारी राकेश अडुकियाको घर  र रेडि ट्रेडको गोदाममा ‘ब्रेक शु’ का प्याकेट बरामद

त्रिभुवन विमानस्थलबाट तस्करी भएको करिब एक सय किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले सोह्रखुट्टेमा रहेको रेडी ट्रोड प्रालिको गोदाममा छापा मारेको छ । गोदामबाट राजस्व अनुसन्धान विभागका अधिकारीहरुले ब्रेक प्याड बरामद गरेका छन् । मोटरसाइकल र स्कुटरमा लाग्ने ५५ बाकस ब्रेक प्याड बरामद गरिएको बताइएको छ । जसमध्ये प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको बताइएको छ । साथै सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिनाभित्र आयात गरेका सबै ब्रेक शुमा सुन नै भएको हुनसक्ने आशंका छ । बुधवार नै सुन प्रकरणमा राजस्वले व्यापारी राकेश कुमार अडुकियाको घरमा पनि छापा मारेको थियो । हुण्डि कारोबारमा समेत संलग्न अडुकियाको कमलपोखरी स्थित घरमा राजस्व अनुसन्धान विभागका अधिकारीहरुले छापा मारेका हुन् । उनले पछिल्लो समय हङकङ, यूएई र भारतमा शंकास्पद भ्रमण गरेको बताइएको छ । उनको घरबाट केही सामान समेत बरामद गरिएको छ । विभागले बुधबार सुन तस्करीमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । सुन राख्नका लागि उपत्यकामा राखिएका गोदामको व्यवस्थापनका लागि सहयोग गरेको आरोपमा विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर साउन २ गते एक बाहिरिएको क्वीन्टल सुन विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको थियो ।।
 

प्रतिक्रिया