फिफा महिला विश्वकपमा अमेरिका र नेदरल्याण्ड्स बराबरीमा रोकिए
फिफा महिला विश्वकपमा साविक विजेता अमेरिका साविक उपविजेता नेदरल्यान्ड्ससँग बराबरीमा रोकिएको छ । न्युजिल्याण्डको स्काई स्टेडियममा आज बिहान भएको खेलमा चार पटकको विश्व विजेता अमेरिका नेदरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको हो । नेदरल्याण्ड्सकी जिल रुड्सले खेलको १७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन । दोस्रो हाफको ६२ औँ मिनेटमा अमेरिकी कप्तान लिन्ड्ली होरानले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । समूह ई मा रहेका यी दुई टोलीले अपराजित रहँदै नकआउट चरण प्रवेशको लागि बलियो दाबेदारी प्रस्तुत गरेका छन् । अमेरिका ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स समान अंकसहित दोस्रो स्थानमा छ । अमेरिकाले समूह चरणको पहिलो खेलमा भियतनामलाई ३–० ले पराजित गरेको थियो । नेदरल्यान्ड्सले भने पोर्चुगलमाथि १–० को जित हात पारेको थियो । आजै यही समूहको अर्को खेलमा पोर्चुगल र भियतनाम दिउसो सवा एक बजे आमने सामने हुने छन् । पहिलो खेलमा पराजित दुवै टोली आज जित निकाल्ने लक्ष्यमा छन् । यस्तै, आजै अपरान्ह पौने ४ बजे हुने समूह बीको खेलमा घरेलु टोली अस्ट्रेलिया र नाइजेरिया भिड्दैछन् । अस्ट्रेलिया दोस्रो तथा नाइजेरिया तेस्रो स्थानमा रहेको छ । आजको खेलमा अस्ट्रेलिया विजयी भएमा प्रि क्वाटरफाइनलको स्थान पक्का गर्ने छ भने नाइजेरिया विजयी भएमा प्रि क्वाटरफाइनलको सम्भावना कायमै रहने छ । यो समूहमा क्यानडा चार अंकका साथ शीर्ष स्थानमा छ । क्यानाडले नाइजेरियासँग बराबरी खेलेको थियो ।।
प्रतिक्रिया