जङगली हात्तीको आक्रमण बाट १ जनाको मृत्यु

कञ्चनपुर । बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।

सोमबार राति नगरपालिकाको मैनाहामा दशैं नाच हेरी से ४ प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्काचाँदर स्थित घर तर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए । 

वन क्षेत्रमा हात्ती कराएको आवाज सुने पछि उमेश सहित २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइलमा सवार रोशन र नवीन सम्पर्कमा आए पनि उमेश सम्पर्कमा नआए पछि खोजतलास गर्दा उनी सामुदायिक वन क्षेत्रमा मृतावस्थामा मंगलबार बिहान फेलापरेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार उमेश मृतावस्थामा फेलापरेको स्थानमा जङ्गली हात्तीको दिसा रहेको र रुख मडारेको जस्तो देखिएको छ । प्रहरीले आवश्यक अनुसन्धान  गरिरहेको छ । 

एक साता अघि मात्र जङ्गली हात्तीको आक्रमणमा परी लालाझाडी गाउँपालिका–४ डाँडाजाइका ५९ वर्षीय रामदल रानाको मृत्यु भएको थियो ।
रासस 

प्रतिक्रिया