मन्त्रीहरु बाढी पहिरोे प्रभावित क्षेत्रमा

काठमाडौं । मन्त्रीहरूले काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढी प्रभावित क्षेत्रको मंगलबार अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनःनिर्माण बारे जानकारी लिने भएका छन् । 

गृह मन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर राई सहितको टोलीले काभ्रेको मङ्गलटार, सिन्धुलीको खुर्कोट, सिन्धुपाल्चोकको चौतारा, ललितपुरको गोटीखेलका लागि प्रस्थान गरेका छन् । 
 

उनीहरुले बाढी पहिरो बाट भएको क्षति तथा त्यहाँ तत्काल भइरहेका सडक पूर्वाधार पुनःनिर्माण र राहतका कार्यक्रम सञ्चालन लगायत विषयमा छलफल गर्नेछन् । 

मृतको सङ्ख्या दुई सय ४६ 

यसैबीच, बागमती प्रदेश बढी प्रभावित भई यही असोज १० देखि १२ गते सम्म भएको बाढी पहिरामा परी दुई सय ४६ जनाको मृत्यु भयो भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएकामा ३० जनाको विभिन्न अस्पतालमा  उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । 

हाल सम्म बाढी पहिरो प्रभावित क्षेत्र बाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न तीव्र रूपमा प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए । 
रासस 

प्रतिक्रिया