छतमा यात्रु बोक्नेलाई २० हजार सम्म जरिवाना

धादिङ । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ ।

यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्ने क्रम बढ्दै गए पछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो । 

खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकाम बाट ग्रामीण भेग तर्फ जाँदै गरेका र ग्रामीण भेग बाट सदरमुकाम आउँदै गरेका जिपलाई बीच बाटोमै रोकेर २० हजार सम्म जरिवाना गराइएको छ । पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीसाधनलाई कारबाही गर्नु परेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । 

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा पटक पटक जानकारी गराउँदा पनि कुनै सुधार नदेखिए पछि गलत ढङ्ग बाट चलिरहेका रातो नम्बर प्लेटका बोलेरो जिपहरु कारबाहीमा परेका हुन् ।

केही दिनयता प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक समेत फिल्डमा खटिएर बजार तथा यातायात अनुगमनलाई तीव्र पारेको छ । अनुगमन टोलीले उपभोक्ताको हितविपरीत देखिएका सबै गतिविधिको निरीक्षण गरी कारबाही गर्दै आएको छ । अनुगमनका क्रममा रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोकेको फेला पारे पछि र यात्रुवाहक सवारीसाधनमा सिट क्षमता भन्दा बढी यात्रु चढाएको भेटिए पछि यात्रु ओरालेर गाडी नियन्त्रणमा लिने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । 

सदरमुकाम धादिङबेंसी बाट ज्वालामुखी गाउँपालिकाको मैदी तर्फ जाँदै गरेको दुई जिपलाई २०÷२० हजार जरिवाना गरिएको छ । क्षमता भन्दा धेरै यात्रु चढाएर असुरक्षित यात्रा गराएको भन्दै प्रदेश ३–०१–०२४ च ६८३९ र ग २ च ९०५३ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइ जरिवाना तिराएर छोडिएको अनुगमन टोलीका सदस्य एवं उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चूडामणि पुरीले जानकारी दिए । 

चालक सहित पाँच जना चढ्न मिल्ने सिट भएको जिपमा २० जना भन्दा बढी यात्रु चढाएको भेटिए पछि ती जिपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उनले जानकारी दिए । 
रासस 

प्रतिक्रिया