हराउँदै दशैंको मौलिकता,लोप हुँदै पिङ

रामेश्वर सापकोटा

काठमाडौं । दशै भन्ने बित्तिकै गाउँ घरमा मात्रै होइन शहर बजारमा पनि  मनोरञ्जनका लागि चचहुँइ–चचहुँइ गरेर मच्चाउने पिङको कुरा आउँछ ।

पिङ हालेपछि मात्रै बल्ल दशै आएको जस्तै लाग्छ । पिङका लागि  गाउँमा बाबियोको लठारो बाट्न सबैको खर पाखाबाट बाबियो उठाउने गरिन्थ्यो । सबै मिलेर पिङ बाटिन्थ्यो ।चारवटा बासको लिङगोमा  गरालो बाध्ने डोरीका लागि गाउँलेसँग बराबर खर उठाइन्थ्यो । पिङ खेल्न हुल बाँधेर जाने गरिन्थ्यो ।

लिङ्गे पिङ, रोटेपिङ, जाँते पिङले असाध्यै प्राथमिकता पाउँथे । तर पछिल्लो समय दशैंमा रौनकता थप्ने ती पिङहरु हराउँदै जान थालेका छन् ।सयमसँगै दशैं मनाउने क्रम पनि बदलिएपछि हाम्रा परम्परागत सांस्कृतिक पक्षहरु हराउँदै जान थालेका छन् । पहिले दशैंमा मानिसहरु पिङको मज्जा लिएर नै मनोरञ्जन गर्ने गर्थे । पिङ दशैंको खास खेल हो । पिङ खेलिरहँदा रोमाञ्चित त हुन्छ नै । स्वास्थ्यलाई पनि राम्रो गर्छ ।   पछिल्ला वर्षहरुमा भने मानिसले  पिङको मज्जा लिइरहेको भने कम  देखिन थालेको छ । 

आधुनिक जीवनशैलीका कारण मानिसले पिङप्रति रुचि देखाउन छाडेका छन् । हुनत अहिले हुने खानेहरुले घरमै फलामका पिङ हाल्ने गरेका छन् । जसले बाहृै महिना पिङ खेल्न सक्छन् । तर हाम्रो सांसकृतिक र धार्मिक मान्यतामा आधारित रहेर खेलिने पिङको जति महत्व छ त्यो फलामको पिङमा छैन । त्यस्तै पछिल्लो समय नयाँ पुस्ताहरु आधुनिक मनोरञ्जनका साधनमा बढी झुम्मिन थालेका छन् । अहिलेका नयाँ पुस्ताहरु आधुनिक प्रविधि इन्टरनेट लगायतमा बढी रमाइलो गर्ने भएकोले पनि पिङको महत्व घट्दै जान थालेको छ ।

त्यस्तै  काठमाडौं उपत्यकामा बाक्लो बस्तीका कारण पिङ हाल्ने खाली ठाउँ पनि भेटिन मुस्किल छ । उता गाउँ घरतिर पनि नयाँ पुस्तामा आफ्नो संस्कृति जोगाउनु पर्छ भन्ने सचेतना जगाउने काम कही कतै बाट हुने गरेको छैन । पुरानो पुस्तामा आफ्नो धर्म, संस्कृति र परम्परा जोगाइ राख्नु पर्छ भन्ने चेतना भएपनि युवा पुस्ताले उनीहरुबाट जान्ने रुची राखेका पाइदैन । यसरी नै सांस्कृतिक मान्यता बोकेका परम्पराप्रति युवा पुस्ताले चासो नदेखाउने हो भने परापूर्व कालदेखि चलिआएका सांस्कृतिक प्रचलनहरु लोप हुँदै जान समय लाग्दैन । 

दशैंको बेलामा आकर्षक रुपमा खेलिने बिशेष गरी लिङ्गे पिङ, लोपोन्मुख अवस्थामा पुगेको छ । लिङ्गे पीङ मात्र नभइ ग्रामीण क्षेत्रहरुमा बनाइने लठ्ठे पीङ, रोटेपिङ, र चर्खे पिङ  बनाउने क्रम पनि बिस्तारै हट्दै गएको छ । केही वर्ष अघिसम्म गाउँ घर मात्रै होइन, काठमाडौंको चोक –चोक र टोल टोलमा दशैंको समयमा लिङ्गे पिङहरु देख्न पाइन्थ्यो र त्यसलाई तिहारसम्म राख्ने गरिन्थ्यो ।  तर, पछिल्ला वर्षहरुमा भने गाउँघर र  काठमाडौंमा यस्ता पिङहरु देखिन छाडेका छन् । तँछाड मछाड गर्दै आफ्नो पालो कुरेर पिङ खेल्ने गरिन्थ्यो । कसले धेरै उचाइसम्म पिङ मच्चाउन सक्छ भन्ने होडबाजी नै चल्थ्यो ।

प्रविधिको विकास भएसँगै मनोरञ्जनका अन्य साधनहरू प्रशस्तै आएकाले पनि यस्ता पिङतर्फ आकर्षण घट्न थालेको पाइन्छ । त्यतिमात्रै होइन युवा पुस्ताहरु बिदेशिन थालेकाले पनि पिङ हाल्ने मानिसको अभाव अर्काे पनि पिङ हराउँदै जानुको कारण भएको पाका पुस्ताहरु बताउँछन् ।  दशैंमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ भने नयाँ पुस्ताका लागि यस्ता कुराहरु एकादेशको कथा भइसकेको छ । दशैंमा मनोरञ्जनका लागि मात्र पिङ खेल्ने नभइ यसको छुट्टै मान्यता  पनि रहेको छ । दशैंको टिकाको दिन जसरी भए पनि एक दिन पिङ चढेर धर्ती छाड्नु पर्ने धार्मिक मान्यता अनुसार दशैंमा पिङ खेल्ने चलन  छ  । वर्षको एकपटक पिङमा खुट्टाराख्दा पुण्य प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता छ । तर अहिले पहिले जस्तो दशैंमा पीङ खेलेर रमाइलो गर्ने परम्परा हराउँदै गएको छ ।

दशैं भन्ने वित्तिकै सबैको मनमा पहिले  चङ्गा उडाउने पीङ खेल्ने र रमाइलो गर्ने भन्ने हुन्थ्यो । दशैंका बेला माछा,मासु र बढी चिल्लो खाइने हुँदा पिङ खेल्दा खाएको खानेकुरा पच्छ भन्ने मान्यता पनि  छ । कतिपयको दिमागमा अझै पनि त्यो बेलाको दशैं र पिङको संझना ताजै होलान् । तर यो बेलाको समय फेरिएको छ । पिङ लोप हुँदै गएको छ । 

प्रतिक्रिया