सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती

कञ्चनपुर ।  कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ । यहाँ थारु समुदायका युवायुवती रातिका समयमा वडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन् ।  

मादलको तालमा कम्मर मर्काउँदै थारु युवतीले प्रस्तुत गर्ने आकर्षक नाच हेर्न थारुलगायत अन्य समुदायका व्यक्तिसमेत झुम्ने गरेका छन् । युवाहरुले मादल बजाउने, युवतीले नृत्य र गीत पस्कने गर्छन् । स्थानीय राजेन्द्र चौधरीले दसैँ नजिकिँदै जाँदा दिनप्रतिदिन यहाँका बस्तीमा नाचको रौनक थपिँदै गएको बताए । थारु समुदायमा दशैँका समयमा सखिया नाचलाई विशेष आकर्षणका रूपमा हेरिने गरेको उनले बताए । 
 
नृत्यमा सहभागी युवतीले भगवान श्रीकृष्णको गाथासहितको गीत मौलिक तरिकाले गाउँने गर्दछन् । गाउँका भद्रभलादमी, वडघर, गुरुवा, केसौका लगायतको बैठक बसि सखिया नाचको व्यवस्थापन गर्ने गरिन्छ । गुरुवाले तान्त्रिकविधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट जोगाउनका लागि पूजापाठ गरेपछि मात्रै नृत्यको आयोजना गरिने थारु अगुवा चेतराज चौधरीले बताए । 

यस नाचमा मादल बजाउने कार्यको अगुवाई गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिन्छ । नृत्यसँगै गीत गाउने युवतीको अगुवाई गर्ने मोहिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ । 

नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीहरूले सामूहिक रूपमा नृत्य पस्कने गर्दछन् । जसलाई थारु भाषामा खोट (पैँया) भन्ने गरिन्छ ।  पैँया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीहरूले आफैँ सिर्जना गरेर पैँयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुने गरेको थारु बुद्धिजीवी दानसिंह दहितले बताए ।  
 
उनका अनुसार यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा पेस गर्नुपर्ने हुन्छ । सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने पौराणीक नृत्य अष्टमीको रातभरी आयोजना गरिन्छ । 

पञ्चमीको दिन अघि सादा पोसाकमा यस नृत्यलाई पस्किने र पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती तथा कमिज लगाउने गर्छन् भने नृत्य गर्ने युवतीले रङ्गिविरङ्गी ऐना जडान गरेका लेहङ्गा, चोला, अगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् । मादलको तालसँगै महिलाले हातमा मैजरी लिएर बजाउने गर्दछन् । अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई अन्य समय दिउँसो नाच्ने गरिन्छ । 

दसैँपछि गाँउमा नृत्यमा सहभागी सबै जनालाई भोज खुवाउने चलन रहेको स्थानीय फुलराम चौधरीले बताए  ।  धार्मिक मान्यताअनुरूप यो नाच आयोजना गरेमा गाँउमा अन्नबाली बढी फल्ने, रोगव्याधी हट्ने र वर्षभरिका लागि अन्न खानपुग्ने विश्वास रहेको छ । थारु समुदायमा यस नाचको परम्परा कायमै रहे पनि मौलिकतापन भने केही हराउँदै गएको थारु अधिकारकर्मी हवलदार चौधरीले बताए । 

लवाइखवाइ र पहिरनले जातजातिको संस्कृतिबारे पहिचान दिने भए पनि सखिया नृत्यमा लगाउने पहिरनमा तथा गहनामा परम्परागत मौलिकपन हराउँदै गएको चौधरीको भनाइ छ । 

रासस 

प्रतिक्रिया