हमासले आक्रमण गरेको एक वर्ष : इजरायल थप कारवाही बढाउँदै,कहिले सकिएला युद्ध ?

एजेन्सी । इजरायलमा प्यालेष्टिनी मुस्लिम लडाकू समूह हमासले अप्रत्यासित आक्रमण गरेको आज १ वर्ष पुगेको छ । 

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो ।  २५० जना इजरायली नागरिकलाई अपहरण गरेर हमासले लगेको थियो । त्यसमा नेपालका बिपिन जोशी पनि रहेका छन् । उनको अहिलेसम्म अत्तो पत्तो छैन । ७ अक्टोबरपछि इजरायल र हमासबीचको युद्ध निरन्तर चलिरहेको छ । यो युद्धमा ४२ हजार प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयको दाबी छ । 

युद्ध लम्बिदै जाँदा अहिले यो युद्धमा इजरायल,प्यालेष्टिनी,इरान र लेवनान पनि जोडिन थालेका छन् । देखिने रुपमा इजरायल एक्लै इरान,लेवनानमा रहेको मुस्लिम लडाकू समूह हिजबुल्लाह र हमाससँग लडिरहेको छ । यद्यपि भित्रि रुपमा इजरायललाई अमेरिकाको समर्थन रहेको बिश्वास गरिएको छ । हमास आक्रमण गरेको एक वर्ष पुगेको अवस्थामा इजरायलले हमास र हिजबुल्लाहमाथिको कारवाही थप बढाएको छ । विश्वभर हमासले इजरायलमाथि आक्रमण गरेको संझना गरिएको छ ।  बिनाकारण हमासले इजरायलका नागरिकमाथि आक्रमण गरेर बर्बरतापूर्वक हत्या र बलात्कार गरेको घटना निकै दुःखद र पीडादायी भएको भन्दै गत वर्ष त्यसको सर्वत्र बिरोध भएको थियो । इजरायलले हमाससँग त्यसको बदला लिएरै छाड्ने भन्दै युद्ध रोकेको छैन । अमेरिका लगायतका पश्चिमा देशहरुले युद्धबिरा मगर्न आग्रह गरेपनि इजरायल सहमत भएको छैन । 

प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमा आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या र २५०जना इजरायली नागरिकको अपहरण गरेपछि शुरु भएको युद्ध कहिले सम्म चल्ने हो ठेगान छैन । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले लेवनानमा हिजबुल्लाह केन्द्रित आक्रमण गरिरहेको छ । हिजबुल्लाहले पनि इजरायलमाथि गत हप्ता रकेट आक्रमण गरेको थियो ।

इजरायली आक्रमणमा इरानको समर्थन पाएको हिजबुल्लाहका नेताहरु मारिदै गएपछि इरानले हिजबुल्लाहलाई सघाउन इजरायलमाथि गत हप्ताको मंगलबार २ सय वटा मिसाइल हानेको थियो । तर त्यसलाइ इजरायलले रोकेको थियो । युद्धको कारण लाखौ मानिसहरु पलायन भएका छन् । महिला,बालबालिका,असक्त र बृद्धबृद्धाको अवस्था दयनीय बनेको छ । पश्चिमा देशहरु इजरायलको पक्षमा छन् । त्यस्तै इरान लगायतका केही मुस्लिम बाहुल्यता भएका देशहरु हमासको पक्षमा देखिएका छन् । तर आम नागरिक भने युद्धको बिपक्षमा छन् । 

प्रतिक्रिया