झ्याप्ले खोलाको पहिरोमा ज्यान गुमाएकाको दुई परिवारलाई आर्थिक सहयोग उपलब्ध

फाइल तस्बिर

गोरखा । झ्याप्ले खोलाको पहिरोमा ज्यान गुमाएका गोरखाका दुई परिवारलाई जिल्ला प्रशसन कार्यालयले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

यही असोज ११ गते राति गोरखाको लापुबेँसीबाट काठमाडौं जाँदै गरेको ना४ख २२७० नको बस पहिरोमा पुरिँदा मृत्यु भएका दुईजनाको परिवारलाई आइतबार घरमा पुगेर राहत रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । पीडित परिवारलाई प्रतिमृतक  दुई लाख ५० हजार रुपैयाँका दरले राहत सहयोग उपलब्ध गराइएको उनले बताए । 

“पहिरोमा ज्यान गुमाएका बसका चालक भीमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार दमाइँ र गण्डकी गाउँपालिका–४ का नवराज तिवारीको परिवारलाई राहत प्रदान गरिएको छ”, प्र.जि.अ दाहालले भने । उनका अनुसार जिल्ला विपद व्यवस्थापन कोषबाट पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको हो । 

कोषमा सङ्घीय सरकारका तर्फबाट प्राप्त रु दुई लाख र गण्डकी प्रदेश सरकारका तर्फबाट प्राप्त रु ५० हजार गरी एकमुष्ट  दुई लाख ५०  हजार रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराइएको  दाहालले बताए । सोही पहिरोमा परेर ज्यान गुमाएका अन्य पीडित परिवारलाई दसैँलगत्तै घरमै पुगेर राहत रकम उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए । 
 

प्रतिक्रिया