सप्तकोसीमा जेट बोट सञ्चालनमा

सुनसरी । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन शुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । 

केही समय अगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उनले भने, “चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा शुरु गरिएको हो ।”

हाल सुनसरीको चतरादेखि बराह क्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुर लगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए ।   

सोमबार बिहान सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पुगेर प्र.जि.अ. तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेल लगायतले निरीक्षण गरेका थिए । 
 

प्रतिक्रिया