इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन राज्यले दिएको सास्ती

चितवन । वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै आइपुगेका चितवन इच्छाकामना गाउँपालिका–१ हात्तीवाङकी सन्चरीमाया चेपाङले दिउँसो भत्ता वापतको रकम प्राप्त गरिन् । भत्ता रकम लिन चार घण्टा बढी लाइनमा बस्नुपरेको उनको गुनासो छ । घण्टौँ लाइनमा बसेर भत्ता रकम हातमा पर्दा जति खुसी भए, त्यत्ति नै थकित पनि देखिन्थे । सञ्चरीमायामात्र होइन इच्छाकामना –३ धुषाकी छोटीमाया चेपाङले पनि चार घण्टा कुरेर भत्ता लिए । 

कुरिनटारमै रहेको अर्को प्रभु बैकमा पनि आइतबार उस्तै भीड थियो ।  वृद्धवृद्धा भत्ता रकम कतिखेर झिक्न पाइन्छ भनेर कुरेर बसिरहेका थिए । बिहानै देखि आएर कागजपत्र बुझाएका इच्छाकामना २ फुर्केडाँडाका बलबहादुर चेपाङले दिउसो  भत्ता रकम लिन पाएनन्  । बैंकमा  सामाजिक सुरक्षा भत्ता लिने र अन्य सेवाग्राहीको भीड थियो । 

माछापुच्छे बैंकमा भत्ता लिन आउनेलाई सहजीकरणका लागि सहयोग गर्न आएका  इच्छाकामना – १ हात्तीवाङका तिलक गिरीले भत्ता लिन वृद्धवृद्धा दिनभर लाइनमा बस्नुपरेको बताए  । विकट स्थानबाट आएका वृद्धवृद्धालाई छिटोछरितो सहज रूपमा भत्ता लिने वातावरण सृजना गर्नुपर्ने उनको भनाई छ  । सकेसम्म वडामै भत्ता वितरण गर्नुपर्ने माग  गरे । 
 
इच्छाकामना वडा नं १ र २ बाट कुरिनटारमा रहेको बैंकसम्म गाडी रिजर्भ गरेर  भत्ता लिन आएको  उनले बताए । आवतजावत गर्न जनही सात सय गाडी भाडामा मात्र खर्च हुने  उनको भनाई छ । इच्छाकामना– १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले वडामै भत्ता वितरणका लागि बैंकसँग आग्रह गरे पनि बैंकले सुरक्षा र कर्मचारीको अभाव जनाउँदै उक्त सेवा दिन इन्कार गरेको बताए । 
  
माछापुच्छ्रे बैंक कुरिनटार शाखाका प्रबन्धक  प्रकाश अधिकारीले  सकेसम्म सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाएको दाबी गरे । उनले वडाको सिफारिसमा अशक्त वृद्धवृद्धालाई हकवालामार्फत भत्ता उपलब्ध गराइरहेको बताए ।

बैंकमा कर्मचारी अभावका कारण वडामै पुगेर भत्ता वितरण गर्न नसकिएको बैंकका प्रबन्धक अधिकारीले बताए। गाउँपालिकाले ग्लोबल आइएमई, प्रभु र माछापुच्छ्रे बैंकमार्फत भत्ता वितरण गर्दै आइरहेको छ । इच्छाकामनाको माथिल्लो भेगका ज्येष्ठ नागरिकले वृद्धभत्ता प्राप्त गर्न पनि सास्ती व्यहोर्दै आइरहेका छन् । सकेसम्म टोलटोलमै पुगेर भत्ता वितरण गर्नुपर्ने त्यत्ति पनि नभए वडास्तरबाटै वितरण गर्नुपर्ने यहाँका ज्येष्ठ नागरिकहरूको माग छ ।
 

प्रतिक्रिया