सुनसरीमा किसान भन्छन्: ‘यसपटकको दशैँ दशा भएर आयो’

सुनसरी । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले ती मध्ये  करिब दुई बिघा भन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए । यसबाट आएको आम्दानीबाट उनी दशैं मनाउने थिए  । 

यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन ।  उनले भने, “बाढीबाट १० कठ्ठा भन्दा बढीको धानखेतीमा क्षति भएको छ । ”यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा ४० हजार रुपैयाँ खर्च गरेका थिए ।

बाढीका कारणले जिल्लाकोे धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रति बिघा  ३० हजारदेखि ४० हजार रुपैयाँ  खर्च गर्दै आएका जनाइएको छ ।  

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ । कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले  बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

उनले बाढीबाट रु दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताए  । 

प्रतिक्रिया