बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभावका कारण बिरामी बढ्दै

सप्तरी ।  केही दिन अगाडिको बाढीले घरविहीन भएका बाढी पीडितलाई शुद्ध खानेपानीको अभाप भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु समस्यामा परेका छन् ।

कङ्कालिनी नगरपालिकाका स्थानीय बोकाइ सदाले  शुद्ध खानेपानी नभएकाले अधिकांश बाढी पीडित बिरामी पर्न थालेको बताए । शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउँदा रुघाखोकी, ज्वरो, बान्ता र झाडापखाला जस्ता लक्षणसहित बिरामी परेको उनले बताए । 

कोशी बाँधमा बसेका बाढी पीडितले कोशीको पानी र ट्यूबेलको पानी खाने गरेका छन् । पानीकै कारण बिरामी परेको हुनसक्ने अनुमान गरिएको छ । 

सोही ठाउँका अर्का बाढी पीडित भागवत मुखियाले यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली आइनपुगेको बताए  । खाद्यान्न सबै नष्ट भएको र राहत सामग्री वितरणमा भेदभाव हुँदा पीडित झन समस्यामा परेको उनको सुनासो छ । “बाढी पीडितका लागि राहत सामग्री स्वरुप हालसम्म मुरै, चिउरा र चाउचाउबाहेक केही पाइएको छैन”, उनले भने । 

स्थानीय बाढी पीडित परवेज आलमले धान काट्ने बेलामा आएको बाढीले धान र घरविहीन बनाएको बताए। धानबालीमा क्षति गरेका हुँदा एक वर्षका लागि भोकै बस्नुपर्ने अवस्था आएको उनले गुनासो गरे ।

कोशी नदी र जीता खोलाको बाढीका कारण हनुमाननगर कंकालिनीका सयौँ बाढी पीडितको विचल्ली भएको छ । हनुमाननर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले स्थानीय सरकारले बाढी पीडितका लागि शुद्ध खानेपानी, समयमा उपचार र राहत सामग्री वितरण गरिरहेको बताए । 

तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं.३, ४, ५ र ७ वडामा पानी पसेपछि स्थानीय समस्यमा परेका छन् । बाढी पीडितका लागि गाउँपालिकाको समन्वय तथा युनिसेफको सहयोगमा सबल नेपाल नामक संस्थामार्फत दुई सय ५२ परिवारलाई राहत सामग्री स्वरुप ‘हाइजिन किट’, पानी खानका लागि मग, डोल र झुललगायत वितरण गर्ने तयारी गरिएको उनले जानकारी दिए । 
 

प्रतिक्रिया