लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न परराष्ट्र मन्त्रीको  निर्देशन


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपाली दूतावासहरुलाई निर्देशन दिएकी छन् ।

आइतबार सिंह दरवारस्थित मन्त्रालयबाट भर्चुअल बैठक गरी परराष्ट्र मन्त्री राणाले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी हुन् । 

सो बैठकमा मन्त्री डा. राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरु र उनीहरुका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएकी हुन् । 

मन्त्री डा. राणाले नेपाली नागरिकको उद्धार,स्वदेश फर्कनुपर्ने भएमा तत्काल सहयोग गर्नु पर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि पनि आवश्यक गृहकार्य गर्न निर्देशन दिएकी छन् । परराष्ट्र  मन्त्री राणाले सम्बन्धित देशका दूतावासहरुलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकता अनुसारका ‘हेल्पडेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न पनि निर्देशन दिएकी छन् । 

इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरुलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताएका छन् । 

त्यहाँ हाल करिब एक हजार दुई सय नेपाली रहेका अनुमान गरिएको र उनीहरु मध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको र उनीहरु पनि बेरुतमा सुरक्षित रहेको जानकारी गराएका थिए । 

इजरायलका लागि नेपली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार पाँच सय नेपाली सुरक्षित रहेको बताए  ।सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया