पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने

काठमाडौ। पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन अब पशुपति विकास कोषले नै गर्ने भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा आइतबार बसेको पशुपति विकास कोष सञ्चालक परिषद्‌को बैठकले आवश्यकताअनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो।

यसअघि उक्त धर्मशाला लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रूपमा मनोमानी सञ्चालन गरिरहेको आरोप लागेको थियो। 

परिषद् सदस्य काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह समेतको उपस्थिति रहेको सो बैठकमा धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषलाई नै भएको भनी आवश्यकताअनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्नेगरी बाटो खुला गरिदिएको हो।

यसअघिको करार बदर गरी पाऊँ भनी मारबाडी सेवा समितिले पशुपति विकास कोषविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 

जसमा यही असोज १६ गते गरिएको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले उक्त निर्णय गरेको हो।

प्रतिक्रिया