व्यापारी भन्छन् :सोचे जस्तो छैन व्यापार

काठमाडौं । “रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइ रहेका छन् ।  तर ग्राहकको सङ्ख्या भने पातलो छ । 

दशैं र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यसपटक भने राम्रो व्यापार नभएको रेग्मीको अनुभव छ ।  उनी भन्छन्, “दुई÷चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर  यसपाली व्यापार कम छ ।”

पर्वको मुखैमा प्राकृतिक विपद्को असर बजारमा देखिएको उनको भनाइ छ ।  यद्यपि फुलपाती शुरु भएपछि व्यापार बढ्छ की भन्ने रेग्मीको झिनो आशा छ । दशैंमा किनमेलका लागि न्युरोडमा भेटिएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्वपूर्ण लाग्छ । चिसो मौसम शुरु भएकाले उनी दशैंमा छुटको मौका छोपेर बाल बच्चाका लागि लुगाफाटा किन्ने गर्छिन । “आफ्नो भन्दा छोराछोरीलाई दसैँमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ”, छिनालले भनिन् ।

ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यसपाली मुल घर सर्लाही नजाने बताए । बाढी पहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उनले बताए। “काठमाडौँमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दशैं मनाउने सोचमा छौँ”, उनले भने, “किनमेल पनि भर्खरै सुुरु हुँदैछ ।” उनले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरिद गर्ने गरेको बताए । पर्वमा भारी छुट पाउने हुँदा उनलार्ई आवश्यक सामग्री किन मनपर्ने कुरा सुनाए।

काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दशैंमा किनमेलमा खासै जोड नदिएको बताइन । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आएकी उनले  सामान्य खर्चमा दशैं टार्ने योजना रहेको सुनाइन् । गाँउ बाढीका कारण तहस नहस भएपछि उनलाई यसपालीको दशैं मनाउने जाँगर चलेको छैन ।

दशैं पनि काठमाडौंमै मनाउने योजना रहेको तामाङले बताइन्  । “आफन्ती सबै दुःखमा छन्, दशैं मनाउनु कसरी ?”, उनले भनिन् । भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए । कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उनको अनुभव छ ।

रासस

प्रतिक्रिया