बाढीपहिरो गएको एक हफ्तापछि मौसममा सुधार आएसंगै पीडित तथा प्रभावित क्षेत्रको अबलोकनमा निस्किए मन्त्रीहरु

तीन दिनभित्र राहत उपलब्ध गराउने देखि घाइतेको निःशुल्क उपचार गर्ने सम्मको आश्वासन

काठमाडौ। बाढी पहिरोले वितण्डा मच्चाएको एक हप्ता पछि केन्द्रिय सरकारका मन्त्रीहरुले घाइते पीडित तथा प्रभावित क्षेत्रको अबलोकन गरेका छन् । असोज ११ र १२ गते अविरल परेको बर्षाले ल्याएको बाढी पहिरो बितण्डाको हफ्ता दिनपछि झरी रोकिएर मौसमका केही सुधार आएसंगै गृहमन्त्री रमेश लेखक आइतबार गोदावरी नगरपालिकाको टिका भैरव लगायतका क्षेत्रमा अनुगमनका लागि पुगेका छन् । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल धुलिखेल अस्पतालमा बाढी पहिरोबाट घाइते भएकाहरूको अवस्था अवलोकनका लागि पुगेका छन्। 

प्रभावित क्षेत्रको निरीक्षण गर्दै गृहमन्त्री लेखकले बाढीपहिरो पीडितलाई तीन दिनभित्र राहत उपलब्ध गराउने बाचा गरे ।उनले जिल्ला प्रशासन कार्यालय र सुरक्षा समितिलाई तत्काल लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिए। यसपछि राहत वितरणको कार्य तीव्र पारिने उनले बताए। बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकोले यकिन विवरण सङ्कलन गर्न सबै पक्षलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले घाइतेको निःशुल्क उपचार सरकारको जिम्मामा रहेको स्पष्ट पारे ।

 त्यस्तै काभ्रेको धुलिखेल अस्पतालमा बाढी पहिरोवाट घाइते भएर उपचाररत बिरामीको जानकारी लिदै  स्वास्थ्यमन्त्री पौडेलले उनिहरु पूर्ण निको नहुँदासम्म सरकारले उपचार गर्ने प्रतिबद्धता जनाएका छन् । 

उनले विपद्का कारण स्वास्थ्य केन्द्र भत्किएर टेन्टमा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीका समस्या समाधानका लागि पहल गर्ने बताए ।  बेथानचोक, धुलिखेल र पनौतीको प्रभावित क्षेत्र अवलोकनका क्रममा मन्त्री पौडेलले विपद्पछि सङ्क्रामक रोग फैलन नदिन मन्त्रालयबाट वितरित शुद्धीकरण तथा सरसफाइका सामग्री प्रभावकारी वितरण गर्न र स्वास्थ्य सचेतना फैलाउन आग्रह  गरे । 

बाढी पहिरोमा परी हालसम्म २४४ जनाले ज्यान गुमाएका छन्, १९ जना बेपत्ता छन् भने १७९ जना घाइते भएका छन् । यो प्रकोपबाट २० अर्बभन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया