धरानमा तालिम प्राप्त कुकुर सहित प्रहरी चेक जाँच शुरु

धरान ।  चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली द्वारा कडाइका साथ जाँच शुरु गरिएको छ । 

चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुर सहित शङ्कास्पद स्थानमा जाँच शुरु गरिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर बाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए । 

चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्र भित्र लागूऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिए सँगै अपराधजन्य घटना घट्न नदिनका इलाका प्रहरी कार्यलयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुर सहित चेकजाँच शुरु गरिएको छ ।

उपरीक्षक तिमल्सिनाले भने, “कुकुरको माध्ययम बाट सवारी जाँच गर्दा लागूऔषध कारोबार गर्ने व्यक्ति, लागूऔषध र शङ्कास्पद वस्तु बरामद गरिँदै आइएकाले धरान सीमा क्षेत्र बाट आवतजावत गर्ने सवारीसाधन तथा शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दै आइएको हो ।”

सीमावर्ती क्षेत्र बाट हुन सक्ने लागूऔषध ओसारपसार, गाँजा, पटका, विष्फोटक पदार्थ, अन्य आपाराधिक गतिविधि नियन्त्रण गर्न कुकुर सहितको प्रहरी जाँच प्रभावकारी बन्दै गएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी उपरीक्षक तिमल्सिनाले बताए । 
रासस 

प्रतिक्रिया