दशैंमा राजधानी बाट बाहिरिनेको संख्या बढ्दै, बसपार्कमा टिकट लिनेको भीड

व्यवस्थापन राम्रो नभएको गुनासो

काठमाडौं । दशैंका लागि राजधानी काठमाडौं बाट बाहिरिनेको संख्या बढ्दै गएको छ । 

काठमाडौंको गोंगबु बसपार्कमा दशैंको लागी घर जाने तथा टिकट लिनेहरुको भीड लागेको छ । बसपार्कमा पुगेकाहरुले व्यवस्थापन राम्रो नभएको गुनासो गरेका छन् । बाढी पहिरोका कारण सवारी साधन आउने जाने टुंगो नहुँदा यात्रीहरुलाई अग्रिम टिकट पाउन समस्या भएको छ । 

देशका विभिन्न क्षेत्र बाट सङ्घीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जाने गर्दछन् । बसपार्कमा टिकट बुकिङका लागि दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुर लगायतका ठाउँमा जाने यात्रुको भीड लागेको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बाटोको अवस्था राम्रो हुँदै गएमा यात्रीहरुलाई गन्तव्यमा पुर्‍याउन हरदम प्रयास गर्ने बताएको छ । हरेक वर्ष दशैं मनाउनका लागि राजधानी काठमाडौं बाट २० लाखको हाराहारीमा यात्रु उपत्यक बाट बाहिरिने गरेका छन् ।

प्रतिक्रिया