निर्मला पन्त हत्याको पाँच वर्ष पूरा, न्याय पाउने परिवारको आस अधुरै

कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी ते¥ह वर्षीया बालिका निर्मला पन्तको हत्या भएको पाँच बर्ष पूरा भएको छ । निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । हत्याको पाँच वर्षमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान टोली परिवर्तन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन नसक्दा पीडित परिवारलाई भने न्याय पाउने आश मरेको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमै चर्चाको विषय बनेको निर्मला प्रकरणमा पाँच वर्षको अवधिमा प्रहरीले उपलब्धि हात पार्न सकेको छैन । प्रहरीले अहिलेसम्म घटनाको कुनै निचोडमा नपुगेको तर अनुसन्धान भइरहेको जनाएको छ । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआइजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदन तयार भएपनि ति कार्यान्वयनमा आउन सकेका छैनन । अनुसन्धानमा खटिएका छ अधिकृत फेरिएपनि घटनामा सग्लनको पहिचान अझै हुन सकेको छैन । घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १ सय २३ जनाको डिएनए परीक्षण गरिसकेको छ । पछिल्लो एक वर्षमा प्रहरीले १० जना नयाँ शंकास्पद व्यक्तिको डिएनए परीक्षण गरेको छ । अहिलेसम्म ६ सय ८० जनाको लिखित बयान लिइएको छ । साथै  पछिल्लो एक वर्षमा ४५ जना शंकास्पद व्यक्तिलाई सोधपुछ गरिएको छ । तर घटनाको वास्तविकता प्रहरीले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । 

प्रतिक्रिया