जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : अध्यक्ष नेपाल

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनताका समस्यालाई केन्द्र बिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । 

“अविरल वर्षा र बाढीका कारण देशवासी आक्रान्त छन् । सरकारले प्राथमिकताका आधारमा विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छ”, शनिबार धनुषाको लालगढमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकार सँगको संक्षिप्त कुराकानीमा उनले भने । 

बाढी र पहिरोले घरबार विहीन बनेका नागरिकलाई तत्काल राहत र पुनःस्थापनाको काम गम्भीरता पूर्वक गर्नुपर्ने सुझाव दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका  अध्यक्ष नेपालले वर्षाको सम्भावना अझै बाँकी रहेकाले जनता तथा सरकार सचेत हुनुपर्नेमा जोड दिए । 

बाढी पहिरो जस्ता विपद बाट जनधनको सुरक्षा गर्न पूर्वतयारी कम हुँदा धेरै क्षति भएको बताउँदै अध्यक्ष नेपालले भने, “कुनै ठाउँमा पहिरो जान सक्ने कुनै ठाउँमा भुस्खलन हुन सक्ने, कुनै ठाउँमा तटबन्ध अझै तोड्न सक्ने सम्भावना भएकाले यस्ता जोखिम न्यूनीकरण गर्न सरोकार भएका सबे सचेत हुनु जरुरी छ ।”  

मधेस प्रदेशको तीन ठाउँमा उपनिर्वाचन हुन लागेका बताउँदै अध्यक्ष नेपालले पार्टीका जिल्ला जिल्लामा पनि अधिवेशन गरेर केन्द्रीय अधिवेशनको तयारी भइरहेको जानकारी दिए । उनले उपनिर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए । 
रासस

प्रतिक्रिया