दुर्गापक्षको चौथो दिन : कुष्माण्डाको पूजाआराधना गरिँदै

काठमाडौं । बडा दशैंको चौथो दिन आज(आइतबार) कुष्माण्डा भगवतीको पूजाअर्चना गरी मनाइँदैछ । 

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डा देवीलाई उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । 

देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवी भागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ । 

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर, भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधि पूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ । चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान प्राप्त हुनुका साथै कुनै पनि प्रकारका वाणीमा रहेको दोष हट्ने मान्यता छ । 

कुष्माण्डा देवीको पूजाआजा गर्नाले ढिलो वाक्य खुल्ने बालकहरूका लागि पनि उपयोगी हुने विश्वास छ । पूजा आजाका लागि बिहानै देखि शक्तिपिठहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । नवरात्रमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी लगायत मन्दिरमा बिहानै देखि भक्तजनको घुइँचो लाग्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा, बागेश्वरी लगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्छ ।

प्रतिक्रिया