मोदीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने विपक्षीको तयारी

मणिपुर हिंसा रोक्न प्रयास नगरेको आरोप

भारतमा आज विपक्षी गठबन्धनले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध संसदको तल्लो सदन लोकसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । अविश्वास प्रस्तावले सरकारलाई जातीय हिंसाग्रस्त मणिपुरको स्थितिमाथि लामो बहस गर्न र प्रधानमन्त्रीलाई जवाफ दिन बाध्य पार्ने विपक्षीको विश्वास छ । विपक्षी दलहरुले मणिपुरको स्थितिबारे संसदमा आएर प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग संसदका दुवै सदनमा लगातार उठाउँदै आएपनि प्रधानमन्त्री मोदी भने त्यसका लागि तयार देखिएका छैनन । संसदको मनसुन सत्र जुलाई २० देखि सुरु भएको हो । सोही दिनदेखि नै विपक्षी दलहरुले मणिपुरको स्थितिबारे संसदमा लामो बहस गरिनु पर्ने र प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । संसदको मनसुन सत्र सुरु हुनु एक दिनअघि मात्रै मणिपुरमा एउटा भिडले दुई आदिवासी महिलालाई खेतमा निर्वस्त्र दौडाइरहेको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सो घटनापछि विपक्षी दल आक्रोशित बनेको छ । त्यसपछि मणिपुरमाथिको लामो मौनता तोड्दै प्रधानमन्त्री मोदीले दोषीमाथि कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । मणिपुरमा गत मे महिनादेखि मैतेइ र कुकी आदिवासी समुदायबीच भड्किएको जातीय हिंसाका कारण अहिलेसम्म एक सय ४० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । 
 

प्रतिक्रिया