निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताए ।नेपाल रत्न तथा आभूषण सङ्घको आज शनिबार आयोजित १९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा उनले मुलुकको समृद्धि र दिगो आर्थिक विकासका लागि निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको बताए । निजी क्षेत्रलाई बलियो बनाउन वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री भण्डारीको भनाइ थियो ।
निजी क्षेत्र पनि सरकारकै अङ्ग भएको उल्लेख गर्दै उनले निजी क्षेत्र मौन बस्न नहुनेमा जोड दिए । वर्तमान सरकार भिन्न परिस्थितिमा बनेकाले सरकार मेरो पनि हो भन्ने भावना निजी क्षेत्रले जागृत गर्नुपर्ने उनको भनाइ थियो ।मन्त्री भण्डारीले बहुमूल्य धातुको व्यावसायिक शुद्धता जरुरी रहेको बताए । बहुमूल्य धातुको व्यवसायमा व्यावसायिक सुरक्षा र नेपाली कामदार उत्पादन गरेर रोजगारी सुनिश्चितता गर्नुपर्नेमा उनको जोड थियो । रत्न तथा आभूषणका क्षेत्रमा कार्यरत कामदार तथा कारिगर विदेशबाट झिकाउनु दुःखद भएको भन्दै मन्त्री भण्डारीले नेपाली कामदार तथा कालिगड उत्पादन गर्न सङ्घको ध्यानाकर्षण गराए ।
रत्न तथा आभूषण व्यवसायीले लामो समयदेखि राखेका मागप्रति सरकार अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै उनले सङ्घले राखेका मागका सन्दर्भमा मन्त्रिपरिषद्मा विभिन्न चरणमा छलफल भएको र छिट्टै माग सम्बोधन हुने जानकारी गराए ।
छिमेकी मुलुकले सुनमा लगाएको राजस्व र करका दरले नेपालको सुनचाँदी व्यवसाय प्रभावित परेको आफू जानकार रहेको भन्दै मन्त्री भण्डारीले करको दरमा समायोजन गर्न सरकारले छलफल थालेको बताए । व्यवसायी धराशयी हुने र सरकारले राजस्व गुमाउनुपर्ने स्थितिमा व्यवसायीले राखेको कर समायोजनको विषय सकारात्मक भएको टिप्पणी गर्दै उनले चाँडै व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार रहेको जनाएका छन् ।मन्त्री भण्डारीले विपद्जन्य अवस्थामा चाडपर्वलाई लक्षित गरेर व्यावसायिक शुद्धतामा विशेष सहयोग गर्न सबै निजी क्षेत्रका व्यवसायीसित आग्रह गरे ।
उनले मूल्यवृद्धि र कृत्रिम अभाव गरिए सरकार टुलुटुलु हेरेर नबस्ने बताए । साथै उनले विपद्को यस घडीमा सरकारले उद्योगी–व्यवसायीको साथ खोजेको उल्लेख गर्दै विपद्मा परेकाहरूलाई सक्दो सहयोगका लागि पनि आग्रह गरे ।
प्रतिक्रिया