अब हुने सबै चुनावमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन् ।
शनिबार नेकपा माओवादी केन्द्र दोलखा –काठमाडौं सम्पर्क– समन्वय समितिले आयोजना गरेको छलफलमा दाहाले विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताए । उनले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने उल्लेख गरे ।
आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै दाहालले आगामी निर्वाचनमा एक्लै विजयी हुनेगरी अभियान थाल्ने बताए । जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
हालैको अविरल वर्षाका कारण उत्पन्न सङ्कट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै दाहालले जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै प्राकृतिक विपत्तिको घडीमा आफ्नो पार्टीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताए ।
अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय जगतमा पनि आफ्नो पार्टीको गरिमा बढेको भन्दै मुलुकको कूटनीति कुशलतापूर्वक सञ्चालन गरेको तथा त्यस क्रममा राष्ट्रसङ्घीय खाद्य सम्मेलन, संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभा र जलवायु सम्मेलनमा सहभागी भएर पार्टी र देशको गौरव बढाएको बताए ।
भारत र चीनसँगको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्वसमुदाय माझ स्थापित भएको दाहालको दाबी छ ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको सिङ्गो केन्द्रीय समिति अध्यक्ष दाहालको नेतृत्वमा एकताबद्ध रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समितिको बैठकले सङ्गठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताए ।
प्रतिक्रिया