बाढीपहिरो प्रभावित पालिकालाई आर्थिक सहयोग

सिन्धुली । सिन्धुलीका बाढीपहिरो प्रभावित पालिकालाई राहत तथा सहयोग जुट्न थालेको छ ।

यही असोज १० र १२ गते अविरल वर्षाले क्षति पुर्‍याएको दुई पालिकालाई विभिन्न निकायले सहयोग गर्न थालेका छन् । बाढीपहिरोजन्य विपदबाट पुगेको क्षति पुनःस्थापन तथा सङ्कट व्यवस्थापन गर्न आर्थिक सहयोग गर्न सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिकालाई सहयोग जुट्न थालेकोे हो ।

कमलामाई नगर नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले  गोलञ्जोर र सुनकोशीका गाउँपालिका अध्यक्ष क्रमशः शङ्करराज बराल र दीपा बोहोरा दाहाललाई तीन/तीन लाखको चेक हस्तान्तरण गरेका छन् । सो अवसरमा नगरप्रमुख पोखरेलले आर्थिक  सहयोगले पनि सुनकोसी र रोशी खोलामा आएको बाढी र विभिन्न ठाउँमा गएको पहिरोका कारण विस्थापित भएका प्रभावित परिवारलाई मलमको काम गर्ने बताए । 

 

“बाढीपहिरोबाट सिन्धुलीका सबै पालिका प्रभावित छन् । अझ बढी उत्तरी क्षेत्रका सुनकोसी, गोलञ्जोर र फिक्कल गाउँपालिका प्रभावित भएको छ,” उनले भने, “छिमेकीकोमा विपत्ति आयो, मेरोमा आएन भनेर चुप लागेर नबसौँ । आ–आफ्नो ठाउँबाट सबैले सकेको सहयोग गरौँ ।” बाढीपहिरोले घरमा थुपारेको लेदो र बालुवा माटो सफाइ गर्न जनशक्तिसमेत प्रभावित क्षेत्रमा खटाइएको उनले बताए ।

विभिन्न ठाउँमा गएको पहिरो र रोशी खोला तथा सुनकोसी नदीमा आएको बाढीले यस पालिकामा मानवीय क्षतिसमेत भएको थियो । मानव बस्ती, धानबाली, खेतीयोग्य जमिन र सडकमा  क्षति बाढीपहिरोले गरेको थियो । बाढीपहिरो प्रभावित सुनकोसी र गोलञ्जोरले सूचना निकालेर पालिकावासीको उद्धार, राहत, पुनःनिर्माण र पुनःस्थापनाको लागि सहयोग गर्न सार्वजनिक अपिल गरेका थिए । 

प्रतिक्रिया