लगानी मैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ: मुख्य मन्त्री आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनाराण आचार्यले लगानी मैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् । रुपन्देही उद्योग सङ्घको ४६ औँ वार्षिक साधारणसभालाई शनिबार बुटवलमा सम्बोधन गर्दै उनले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकारले उच्च प्राथमिता दिनुपर्छ भने । उनले प्रदेश सरकारले अगाडि बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पारे ।
लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लामा औद्योगिक क्षेत्र बनाउने निर्णयलाई कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने जानकारी दिँदै उनले उद्योगी, व्यवसायीको उत्साहसँग प्रदेशको समग्र विकासको सम्वन्ध जोडिएको बताए। मुख्य मन्त्री आचार्यले सरकारले उद्योगी मैत्री नीति अलवम्बन गरेको बताए ।
मुख्यमन्त्री आचार्यले परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी रहेको जनाउँदै उत्पादनको क्षेत्रमा लगानी बढाउन उद्योगी, व्यवसायीलाई आग्रह गरे । उनले स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी रहेको र स्वदेशी उत्पादनलाई बढाउन सरकारले पनि साथ दिने स्पष्ट पारे ।
प्रदेश सरकारले बनाएका कानुनबाट उद्योग र व्यवसायका क्षेत्रमा काम गर्न सन्दर्भमा कुनै समस्या परेको भए त्यसलाई सहजीकरण गरेर, त्यो कानुनलाई संशोधन गरेर उद्योगी मैत्री बनाउनको निमित्त प्रदेश सरकार तयार रहेको मुख्य मन्त्री आचार्यले जानकारी दिए । सो अवसरमा उहाँले उद्योगी, व्यसायीको सुझावलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया