११ करोडको सुन सहित हेटौँडा बाट २ जना भारतीय नागरिक पक्राउ
हेटौँडा । मकवानपुरको हेटौँडा बाट ११ करोडको अवैध सुन बरामद गरिएको छ ।
हेटौँडा–१५ रातोमाटे चौकी बाट ८ किलो ४३.९७ ग्राम सुन सहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् ।
सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । शनिबार बिहान ३ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटे चौकी स्थित पुर्व पश्चिम सडक खण्डमा पथलैया बाट हेटौँडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा सुन बरामद भएको हो ।
बाड र कुटीले शरीरको विभिन्न भागमा लुकाएर सुन ल्याएको भेटिएको प्रहरीले जनाएको छ । उनीहरुले काठमाडौंको गौशालामा सुन बुझाउने गरी जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
बरामद भएको सुन र पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया