दाउन्नेमा सडक भासिदा पूर्व‍-पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेको खुर्सानी खोलामा नजिकै सडक भासिदा पूर्व—पश्चिम राजमार्ग अवरुद्ध भएको छ । 

शुक्रबार साँझ दाउन्नेको खुर्सानी खोलामा सडक भासिए पछि फेरि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  यसअघि असोज १४ गते भासिएको सडक १५ गते रात भरी बन्द गरेर मर्मत गरिएको थियो । सडक शुक्रबार पनि सोही ठाउँमा भासिएर साँझ पौने ८ बज देखि पूर्ण रुपमा अवरुद्ध भएको हो । 

२० फिट लम्बाई र ५ फिट गहिराइमा सडक भासिएको प्रहरीले जनाएको छ । पटक पटक सडक भासिदा दशैं मान्न घर फर्कदै गरेका यात्रु मर्कामा परेका छन् । प्रहरीले सडक मर्मत गरी खुलाउने प्रयास गरिरहेको जनाएको छ । सडक अवरुद्ध भएपछि पूर्व बाट पश्चिम र पश्चिम बाट पुर्व आवत जावत गर्ने सयौं सवारी साधनहरु अलपत्र परेका छन् ।

पुरानो ट्र्याकमा पहिरो झर्ने क्रम नरोकिए पछि नयाँ ट्र्याक खोल्ने काम थालिएको छ । यसका लागि अझै केही समय लाग्ने भएकोले राजमार्ग खुल्न अझै केही समय प्रहरीले जनाएको छ । 

प्रतिक्रिया