भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए काँग्रेस समाप्त हुने कोइराला समूहको निष्कर्ष

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको  औचित्य समाप्त हुने बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताएका हुन ।

नेता कोइरालाले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए । काँग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पती छानबिन गर्नुपर्ने बताएका छन ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पती विवरण छानबिन गर्न कांग्रेसले नै माग गर्नुपर्ने बताएका हुन । मन्त्री गुरुङले उच्च तहका नेताहरुको सम्पती छानबिन गरी रुपान्तरणको अभियान शुरु गर्नुपर्नेमा जोड दिए । 

कांग्रेस उपसभापति समेत रहेका गुरुङले रुपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रुपान्तरण सम्भव नरहेको बताए । काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसको रुपान्तरण सम्भव नभएको भन्दै उपसभापति र महामन्त्रीहरु अघि आउनुपर्ने उल्लेख गरे । 

नेपाली काँग्रेसको रुपमान्तरण अभियान सञ्चालन गरिरहेका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको टिप्पणी गरे  । 

नेता घिमिरेले महाराजको इशारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरे अनुरुप बोल्ने गरिएको समेत उल्लेख गरे ।

प्रतिक्रिया