एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गको पहिरो पन्छाइँदै

तनहुँ । बुद्धसिंह मार्गको पहिरो पन्छाउन सुरु गरिएको छ । पृथ्वीराजमार्गको वैकल्पिक खण्डका रुपमा रहेको बुद्धसिंह मार्गमा गत बिहीबारको वर्षा सँगै पहिरो खस्दा विभिन्न ठाउँ अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाउन सुरु गरिएको हो । 

हाल सम्म व्यास नगरपालिका–१४ मास्दीघाट बाट बन्दीपुर गाउँपालिका–६ खहरे सम्मको पहिरा पन्छाइएको स्थानीय अगुवा सिद्धान्त थापा मगरले जानकारी दिए । बन्दीपुर स्थित नाल्दीघाटमा ठूलो पहिरा गएको र सानो जेसिभी भएकाले पहिरा पन्छाउन समस्या भएको उनले बताए । 

“नाल्दीघाट बाट साराङघाट सम्म सडक खुलाउन बाँकी छ । ठूलो क्षमताको जेसिभी ल्याएर बाँकी खण्ड खुलाउने प्रयास गरिरहेका छौँ”, मगरले भने, “यो विपद्को घडीमा स्थानीय सरकार र पूर्वाधार कार्यालयले संवेदनशील भई सहकार्य र समन्वय गर्नुपर्छ ।”

दशैंका बेला सडक अवरुद्ध हुँदा यहाँका जनताले सास्ती खेपेका छन् । “ठाउँठाउँमा गएको पहिराले हिँड्डुल गर्न समस्या भएको छ । कोही बिरामी भयो भने स्वास्थ्य संस्था सम्म लैजान सक्ने अवस्था छैन । दशैंका लागि किनमेल गर्न जाने सर्वसाधारणलाई सास्ती भएको छ”, उनले भने ।

गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्ला सँग जोड्ने सबै भन्दा छोटो दूरीको वैकल्पिक सडकका रुपमा उक्त सडकलाई लिने गरिएको छ । 

उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडक सँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्न पश्चात् बाटो अझ छोटिन्छ । पुल निर्माण पछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानु भन्दा करिब २५ किलोमिटर छोटो पर्दछ ।
रासस 

प्रतिक्रिया