नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । बडा दशैंको तेस्रो दिन आज (शनिबार) चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ । 

नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको भनाइ छ । 

शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो । सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुष लगायत शस्त्र अस्त्र छन् । भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ । विधिपूर्वक उनको आराधना गर्नाले सबै किसिमका बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ ।

नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ । प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ । पुराण अनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो । दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय–समयमा विभिन्न रूप लिएको उल्लेख छ । 

नवरात्रका अवसरमा देशभरका शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ । आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म चल्ने यस पर्व लाई असत्य माथि सत्यको विजयका रूपमा लिने गरिन्छ ।  नवरात्र भरि दुर्गा सप्तसधी र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ । 

दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनै नौ वटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो । 

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको विशेष घुइँचो लाग्छ । बडा दशैंका दिन बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया