राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको बताएकी छिन् । 

शुक्रबार स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले संयुक्त राष्ट्रसङ्घको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाइएको बताइन् ।   

मन्त्री डा. राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा सहभागी भएर शुक्रबार स्वदेश फर्किएकी हुन् ।    
    
मन्त्री डा. राणाले ती बहुपक्षीय एवं क्षेत्रीय बैठकहरूमा नेपाल स्पष्ट रुपमा सुनिने र देखिनेगरी उपस्थित भएको पनि जानकारी द्रिइन् । 

एक प्रश्नमा उनले हालै विकसित परिस्थितिका कारण लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे नेपाल सरकार जानकार रहेको, अहिलेसम्म सबै नेपाली सुरक्षित रहेका र नेपाल फर्कन चाहनेका लागि दूतावासमार्फत् हेल्प डेस्क स्थापना गरी सम्पर्क नम्बर दिइएको जानकारी दिइन् । 
 
उनी  क्यानडाको टोरन्टोमा गत सेप्टेम्बर १९–२० मा आयोजित महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी भएकी थिइन् । । सो बैठकका क्रममा उनले विभिन्न देशका विदेशमन्त्री सँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । 


(((

प्रतिक्रिया