डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ:  मन्त्री गुरुङ

ललितपुर ।  सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ सफल पार्न नेपाल टेलिकमको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । 

नेपाल टेलिकमको जावलाखेलस्थित कार्यालयमा नेटवर्क सञ्चालन प्रणालीको शुक्रबार निरीक्षण गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले दक्षिण एसियामा नेपालमा सूचना प्रविधिको महत्त्वपूर्ण सम्भावना भएको क्षेत्र भएको बताए  । नेपाल टेलिकमले सेवाको प्रभावकारिता वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिँदै उनले व्यवसायिकता एवं सेवाको गुणस्तर पनि सुधार्नुपर्ने बताए । 

मन्त्री गुरुङले यसै वर्ष उपत्यकाको सबै मन्त्रालय र कार्यालयमा ‘इगभर्नास्’ शुरु गरिने बताउँदै यो सेवा शुरु भएसँगै जनताको धेरै खर्च कटौती हुने विश्वास व्यक्त गरे। 

सूचना प्रविधि दशक घोषणा भए पनि बजेटले नसमेटेको बताउँदै मन्त्री गुरुङले आगामी दिनमा आवश्यकता अनुरूप खर्च व्यवस्थापन गरेर काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।  । 

दिगो विकास लक्ष्य पूरा गर्ने सन्दर्भमा टेलिकमको ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले हातले मात्रै काम गरेर दिगो विकास लक्ष्य पूरा हुन सक्दैन भने । नेटवर्क सञ्चालन प्रणालीको निरीक्षणका क्रममा सञ्चार सचिव राधिका अर्याल, टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित टेलिकमका प्राविधिक कर्मचारीको उपस्थिति रहेको थियो ।

केन्द्रीय तहबाट देशैं भरिका नेटवर्कहरू सञ्चालन भएन भएको, समस्या के भएको छ भन्ने हेर्ने र मोनिटरिङ कक्षको निरीक्षणका क्रममा मन्त्री गुरुङ समक्ष टेलिकमका उपप्रबन्धक रवीन्द्र खैँजुले नेटवर्किङ प्रणाली र सञ्चालन मोनिटरिङको बारेमा प्रस्तुतीकरण गरेका थिए । 
 

प्रतिक्रिया