नागरिकलाई सहज रुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

ललितपुर ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिएका छन् ।  

प्रतिष्ठानको शुक्रबार निरीक्षण गर्दै मन्त्री पौडेलले अन्य सरकारी अस्पतालको तुलनामा प्रतिष्ठानको सेवा अझ उदाहरणीय बनाउनुपर्नेमा जोड दिए ।  “यहाँको सेवा तुलनात्मक रुपमा राम्रो छ, यसलाई अझ राम्रो बनाउन जरुरी छ”, उनले भने । 

प्रतिष्ठानले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै मन्त्री पौडेलले कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सहज सेवा दिन आग्रह गरे ।  । “अनलाइन सेवा अझ प्रभावकारी बनाउनुपर्छ”, उनले भने  । अस्पतालको अवस्थाबारे जानकारी लिन आएको उल्लेख गर्दै मन्त्री पौडेलले सेवा प्रभावकारी बनाउनका लागि सघाउन मन्त्रालय तयार रहेको बताए । 

निरीक्षणका क्रममा मन्त्री पौडेललाई प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेशनाथ गंगोलले स्वागत गरेका थिए । आफ्नै स्रोत साधनमा धेरै बिरामीलाई सेवा प्रदान गर्नुपरेको उल्लख गर्दै उनले अस्पतालको नयाँ भवन निर्माणका लागि सहयोग गर्न मन्त्री पौडेल समक्ष आग्रह गरे ।  । सो अवसरमा मन्त्री पौडेलले अस्पतालको नयाँ भवन निर्माणका लागि पहल गर्ने आश्वासन दिए । 

मन्त्री पौडेलले विपद्का क्रममा घाइते भएका बिरामीको उपचारबारे जानकारी लिँदै सरकारले घोषणा गरिएअनुसार नै निःशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिए । प्रतिष्ठानका रजिष्टार डा. पारसकुमार आचार्यले सेवाको गुणस्तर बढाउन मन्त्रालयको निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता  जनाए । 
 

प्रतिक्रिया