प्रधानमन्त्री दाहाल र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा महत्वपूर्ण छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ ।

इटाली भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल र उनका बङ्गलादेशी समकक्षीबीच आपसी हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो ।

यस्तै, उनीहरुबीच कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि महत्त्वपूर्ण छलफल भएको बताइएको छ । त्यसका अलावा दुई प्रधानमन्त्रीबीच क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा पनि महत्त्वपूर्ण छलफल भएको थियो ।

बङ्गलादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । यस्तै, सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने बताउँदै आएको छ । केही महत्त्वपूर्ण जलविद्युत आयोजनामा समेत बङ्गलादेशले लगानी गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणका क्रममा नेपाल, भारत र बङ्गलादेशबीच विद्युत व्यापारका सम्बन्धमा त्रिदेशीय सहमतिको वातावरणसमेत बनेको छ ।

यस्तै, नेपाल र बङ्गलादेशबीच रहेका विभिन्न संयन्त्रमार्फत द्विपक्षीय हित र चासोका क्षेत्रमा समेत विचार विमर्शका अलावा, अनुभवको आदानप्रदानसमेत भइरहेको छ ।
 

प्रतिक्रिया