बाढी पहिरो क्षतिको पुनर्निर्माणमा २० देखि २५ अर्ब लाग्ने मन्त्री दाहालको अनुमान

बीपी राजमार्ग तत्काल सञ्चालन हुने अवस्था नरहेको जिकिर

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्ग तत्काल सञ्चालन हुने अवस्था नरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले वीपी राजमार्ग मात्रै १२ किलोमिटर भत्किएको भन्दै सञ्चालनमा अझै केही दिन लाग्ने बताएका हुन्।

 उनले भने,'बीपी राजमार्गबाहेक अरु राजमार्गमा चाँडै, केही दिनभित्रै यातायात सञ्चालन हुन्छन्,' मन्त्री दाहालले भने, “बीपीमा भने समय लाग्छ। त्यहाँ १२ किलोमिटर बाटोको नामो-निशाना नै छैन ।'
मन्त्री दाहालले बाढी पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको बताए । व्यक्तिका घर तथा सार्वजनिक सडकमा पुगेको क्षति पुनर्निर्माणका लागि सो रकम लाग्ने अनुमान गरिएको उनले बताए ।
उनले भने, “राजमार्गहरू बनाउनका लागि २० देखि २५ अर्ब पैसा लाग्छ । त्यसमा पनि सबैभन्दा ठूलो पैसा बीपी राजमार्गमै लाग्छ । यो बाटो खोल्नका लागि काम गरेको गरेकै छौँ । बाटो खोल्नका लागि काम भइरहेको छ ।”अरु राजमार्गमा भने अन्तिम काम भइरहेको उनले जानकारी दिए ।
त्यसका लागि सरकारले कोष बनाएर १ अर्ब रुपैयाँ राखेको मन्त्रीहरूको एक महिनाको तलब पनि कोषमा जाने निर्णय गरेको, कांग्रेस एमालेका सांसदहरूको पनि केही रकम कोषमा दिने निर्णय भएको समितिमा जानकारी गराए ।

प्रतिक्रिया