धितोपत्र बोर्डको अध्यक्षको अन्तरर्वार्ता फेरि रोकियो

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आज बोलाइएको अन्तरर्वार्ता  फेरि स्थगित भएको छ । अध्यक्ष नियुक्तिका लागि छनोट सूचीमा परेका  तीन जना उम्मेदवारलाई शुक्रबार अर्थमन्त्रालयमा  बोलाइएको अन्तर्वार्ताका स्थगित भएको हो ।

अन्तर्वार्ता दिन पुगेका उम्मेदवारलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको स्वास्थ्यमा समस्या आएकाले अन्तर्वार्ता रोकिएको जनाइएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको रहेको छ । सो समितिले अर्को सूचना जारी नभएसम्मका लागि अन्तर्वार्ता स्थगित गरेको जनाएको छ । 

यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो । छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । 

त्यसपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न अन्तरिक आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको थियो ।  

धितोपत्र बोर्ड गत पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ । अर्थमन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बराललाई अध्यक्षको जिम्मेवारी दिएर सरकारले काम चलाएको छ ।

प्रतिक्रिया