परराष्ट्र मन्त्री  राणा आज स्वदेश फर्किदै

काठमाडौं ।  परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त रहेकी छन् । 

सो सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्र मन्त्री राणाले बिहीबार विभिन्न देशका उप-प्रधानमन्त्री, विदेश मन्त्री एवं मन्त्रीहरु सँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।  सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहरुका राष्ट्रपति, प्रधानमन्त्री, उप-प्रधानमन्त्री, विदेश मन्त्री तथा मन्त्रीहरुको सहभागिता रहेको छ । 

सो सम्मेलनलाई सम्बोधन पछि मन्त्री  राणाले बिहीबार किर्गिज गणतन्त्रका उप-प्रधानमन्त्री एदिल बैसालभ, म्यान्माका उप-प्रधानमन्त्री तथा विदेश मन्त्री यु थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेश मन्त्री फाइसल बिन फराह अल साउद सँग भेटवार्ता गरिन् । 

त्यसैगरी मन्त्री  राणा सँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार सम्बन्धी राज्य मन्त्री डा. थानी अहमद अल जियोदीले पनि शिष्टाचार भेटवार्ता गरेकी थिइन् । ती भेटहरुमा आपसीहित र चासोका विविध विषयका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्य बारे कुराकानी भएको थियो ।

परराष्ट्र मन्त्री राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेश मन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औं महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर शुक्रबार दोहा बाट स्वदेश फर्कंदै छिन् । 
रासस 

प्रतिक्रिया