तुईन र फड्केले जोडियो तातोपानी नाका

सिन्धुपाल्चोक । अविरल वर्षा सँगैको बाढीले भोटेकोशीको लार्चा स्थित ‘बेलिब्रिज’ बगाए पछि तातोपानी नाका सडक सम्पर्क बाट टुटेको छ । 

भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो । उक्त बेलिब्रिजले सीमा गाउँ लिपिङ जोडिएको थियोे । त्यही बेलिब्रिज भोटेकोशीले बगाए पछि सीमाक्षेत्रलाई राजधानी सँग जोड्ने सडकको सम्पर्क टुटेको हो ।

पुल बगे पछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार गाउँपालिकाको खर्चमा सडक डिभिजन र गाउँपालिकाको दुई एक्स्काभेटर र टिपर प्रयोग गरी ह्युम पाइप राखेर अस्थायी रुपमा खोला तार्ने संरचना निर्माण भइरहेको छ  । 

“तत्काललाई तुइन बाट आउजाउ भइरहेको छ, तुइन दीर्घकालीन नहुने र जोखिमपूर्ण भएकाले अस्थायी गाडी तार्ने फड्के हाल्ने काम अन्तिम चरणमा पुगेको छ”, वडाध्यक्ष श्रेष्ठले भने । भोटेकोशीको प्रवाह अझै नघटेकाले उक्त काम सम्पन्न गर्न अझै दुई दिन बढी लाग्ने उनको भनाइ छ ।

लिपिङ खोला उर्लिँदा लिपिङ र कोदारी जोड्ने पुलको भाग ध्वस्त पारेको छ । राजमार्गको क्षतिग्रस्त खण्डमा मर्मत थालिएको छ । यस अघि गाउँपालिका सँग भएका पुरानो तुइन अहिले प्रयोगमा ल्याइएको र बाँस, फलामे पोल राखेर फड्के बनाइएको हो ।
रासस 

प्रतिक्रिया