त्रिभुवन राजपथ सडक सञ्चालनमा

हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी

बागमती । त्रिभुवन राजपथ सडक अन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं  खण्डमा शुक्रबार बिहान देखि  यातायातका साधन सञ्चालन भएका छन् ।
जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुन सक्ने सूचना जारी भए पछि  शुक्रबार बिहान सम्म यी सडकमा सबै सवारीसाधन  सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।
 
मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले बिहान देखि  यातायातका साधन पुनः सञ्चालन भएका हुन् । हेटौँडा–पालुङ–नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन भएका छन् । 

बाढी पहिरोका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । हेटौँडा–काठमाडौं जोड्ने सडक अन्तर्गत हेटौँडा–भैँसे–रातोमाटे खण्डको गोल्पिङबेसीमा ठूल्ठूला ढुङ्गा सहित खसेको पहिरो पन्छाउन चार वटा मेसिन प्रयोग गरेर काम भइरहेको छ । 

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–६ स्थित देउराली बाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोला सम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका–२ स्थित बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उनले जानकारी दिए । 

दक्षिणकाली–फर्पिङ सडक अन्तर्गत महालक्ष्मी खोला देखि पाकेल सम्म र पाकेल देखि फर्पिङ सम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुई वटा  मेसिन चलाइएको छ । 
रासस 

प्रतिक्रिया