त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको उपाधि क्यानडाले जितेका छ । 

क्यानडाको किङ्गसिटीमा बिहीबार राति सम्पन्न खेलमा ओमानलाई पाँच विकेटले पराजित गर्दै क्यानडाले उपाधि हात पारेको हो । ओमानले दिएको ८३ रनको लक्ष्य क्यानडाले १४ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । 

क्यानडाका लागि कप्तान निकलोस कृतनले सर्वाधिक २० रनको योगदान दिए भने हर्ष ठाकरले १८ रन बनाए । त्यस्तै, दिलप्रित बजवाले १४ तथा नभनित धलिवालले ११ रन बनाए । ओमानका अकिब इलियासल र कालिमउल्लाहले समान दुई–दुई विकेट लिए भने जिसन मक्सुदले एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो । तीन देश सम्मिलित सिरिजमा क्यानडाले पहिलो र दोस्रो खेलमा नेपाललाई १४ रन र चार विकेटले पराजित गरेको थियो । 

त्यसैगरी ओमान विरुद्धको पहिलो खेलमा क्यानडा आठ विकेटले पराजित भएको थियो । नेपाल भने दोस्रो स्थानमा रहेको छ । यसअघि नेपालले ओमानलाई पहिलो खेलमा ३७ रन तथा दोस्रो खेलमा ५६ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया