बी.पी. राजमार्ग सहित भित्री सडक बगे पछि जनजीवन कष्टकर

धुलिखेल । नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढी पहिरोले बाटो टुटे पछि पसलमा भएको सामान सबै रित्तिसकेको बताए । 

दशैं पर्व नजिकिँदै गर्दा घरमा खानालाउन समेत समस्या रहेका नागरिकका लागि तत्काल बाटो खुलाएमा सहजता हुने उनको अपेक्षा थियो । रोशी गाउँपालिका–७ थान्सिङबेँसी स्थित अमरनाथ प्राविका शिक्षिका अनिता गौतमले तत्कालको समस्या बाटो, खाद्यान्न र सञ्चार भएकाले राज्यले त्यसमा पहिला ध्यान पुर्‍याउन आवश्यक रहेको बताए। बाटो नै नभए पछि नागरिक खाद्यान्न र राहत लगायतका समस्यामा रहेको उनले बताए ।

रोशी गाउँपालिका–७ कै अर्का स्थानीय लोकनाथ गौतमले बाढी पहिरो बाट बढी क्षति हुनुको कारण खानी तथा क्रसर भएको भन्दै अबका दिनमा राज्यले अवैध उद्योगलाई नियमन गर्नुपर्ने बताए । 

असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारण गएको बाढी पहिराले गाउँबस्ती देखि सडक, पुल र विद्युतको पोल ढाले पछि अहिले यातायात, विद्युत र सञ्चार सेवा टुटेको छ । 

विपदमा परेर धेरैले ज्यान गुमाउने देखि घाइते भएर धेरै मानिस अस्पतालमा उपचाररत छन् । सडकमा यात्रा गरेका यात्री बीच बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न अहिले पनि भोक भोकै कठिन यात्रा गर्दैछन् ।

बाढी पहिराका कारण यहाँका नागरिक जीवन कष्टकर बन्दै गएको छ । त्यस्तै, कष्टकर जीवन जिउन बाध्य हुनेमा रोशीखोला आसपासका धेरै नागरिक छन् । यहाँका पसलमा उपलब्ध चाउचाउ र बिस्कुट पनि किन्न सक्ने अवस्था छैन । त्यसो त पसलेले नयाँ सामान ढुवानी गरेर बेच्न सक्ने अवस्था पनि छैन । 

रोशीमा गएको बाढी पहिराले बी.पी. राजमार्गका विभिन्न खण्डमा क्षति पुर्‍यए पछि दैनिक हजारौँको सङ्ख्यामा गुड्ने सवारीसाधन अहिले ठप्प छ । राजमार्गका दर्जनौँ ठाउँमा बाढीले कटान गरी क्षति पुर्‍याएको छ भने अधिकांश ठाउँमा पुरिएको अवस्था छ ।

बीपी राजमार्ग अहिले सुनसान छ । राजमार्गमात्र सुनसान छैन, त्यस आसपासका बस्तीमा समेत सुनसान छाएको छ । बाढी पहिराले सडक, विद्युतको पोल, खानेपानी पाइप लगायत भौतिक संरचना ध्वस्त बनाए पछि अहिले सो क्षेत्रका नागरिकलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्योपचारमा समस्या परेको छ ।

त्यस्तै, बाढीले रोशीखोला आसपासमा रहेका सयौं रोपनी खेती योग्य जमिन सँगै लगाएको बाली समेत बगाएको छ ।रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढी पहिरोका कारण बाटो, विद्युत र सञ्चार टुटेकाले समुदाय र पालिका बीचको सम्बन्ध नै टुटेको अवस्था रहेको बताए। 

यस्तो अवस्थाकै बीचमा पनि पहिलो प्राथमिकता खोज तथा उद्धारमा दिएको र सँग सँगै अवरुद्ध बाटो खुलाउने देखि राहत तथा स्वास्थ्योपचारमा केन्द्रित भएर काम गरिरहेको उनले बताए। पूर्व जाने छोटो दूरीको राजमार्गलाई दशैं अगाडि नै खुलाउने गरी वैकल्पिक मार्ग निर्माणको कामलाई अगाडि बढाएको उनले बताए । 

एकातिर विपदमा परी नागरिक घाइते र पीडामा छन् भने अर्कातिर खाद्यान्न अभाव र बिरामी परेका नागरिकले समयमा नै उपचार नपाएर आक्रान्त बनेका छन् ।

सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले सडक खुलाउन निरन्तर आफूहरू स्काभेटर लगायत उपकरण सहित अस्थायी रूपमा वैकल्पिक बाटो बनाउने क्रममा रहेको बताए। 

अहिले बी.पी. राजमार्गको काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका चौकीडाँडा बाट रोशी गाउँपालिका–१२ को बर्खिखोला सिन्धुलीको सिमाना सम्मको करिब २० किलोमिटर सडकका विभिन्न स्थानमा अस्थायी वैकल्पिक मार्ग निर्माण गर्न हेलिकप्टरमा इन्धन ढुवानी गरी काम गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

पछिल्ला तीन दिनमा मङ्गलटार बाट बुलढुङ्गा सम्म चार किलोमिटर बाटो बनिसकेको जनाइएको छ । सडक, विद्युत र सञ्चार सम्पर्क टुटेको जिल्लाका विकट क्षेत्र डाँडापारि स्थित महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका तथा कोशीपारिको भुम्लु र चौँरीदेउराली गाउँपालिकाले क्षति पुगेको सडकखण्ड मर्मत गरी सवारीसाधन सञ्चालनका लागि काम अगाडि बढाएको छ । 

महाभारत गाउँपालिकाको जनमुक्ति लोकमार्गको चारकिल्ला भूमिचुली–राजबास हुँदै बीपी राजमार्ग जोड्ने र चारकिल्ला गाउँपालिका केन्द्र देवीटार गोकुले खण्ड सम्म खोल्ने प्रयास जारी रहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। 

खानीखोला गाउँपालिकाले पालिका केन्द्र तालढु्गा बाट जिल्ला सदरमुकाम जोड्ने सडक खण्ड अन्तर्गत खोपासी–तालढुङ्गा सडक खुलाउने प्रयास भइरहेको अध्यक्ष इन्द्रबहादुर थिङले बताए । बी.पी. राजमार्गको धुलिखेल–भकुण्डे–चौकीडाँडा र काभ्रेभञ्ज्याङ–फूलबारी–नमोबुद्ध–दाप्चा सडकखण्ड सञ्चालन भइसकेको उनले जानकारी दिए ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घाइते र समस्यामा परेकाहरूको अझै उद्धारको काम जारी रहेको बताए । त्यस सँगै सर्वदलीय बैठक, सहयोगी निकाय लगायत सँग बैठक बसी विभिन्न १० वटा क्लस्टर निर्माण गरी खानेपानी, स्वास्थ्य, खाद्यान्न, कृषि, बाटो, बिजुली, सञ्चार लगायत क्षेत्रमा काम गर्नका लागि आवश्यक निर्देशन दिइसकेकामा सोहीअनुसार काम अगाडि बढेको बताए । 

जिल्लाका पनौती नगरपालिका, रोशी गाउँपालिका, तेमाल, बेथानचोक, चौँरीदेउराली गाउँपालिका र मण्डनदेउपुर नगरपालिका अतिप्रभावित क्षेत्र रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रासस 

प्रतिक्रिया