दशैंको दोस्रो दिन : आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
काठमाडौं । बडा दशैंको दोस्रो दिन आज(शुक्रबार) देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिँदै छ ।
ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने गरिन्छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।
ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने धार्मिक मान्यता छ । देवी ब्रहमचारिणीको पूजाआराधना गर्न भक्तजनहरु आज बिहानै देखि देशभरका विभिन्न शक्तिपीठ, देवीमन्दिरमा पुगेका छन् । घरघरमा स्थापित दशैं घर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरुको वाचन श्रवणको क्रम पनि चलिरहेको छ । आज पनि देशभरका शक्तिपीठहरु भक्तजनको घुइँचो लागिरहेको छ ।
आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म चल्ने पर्व दशैं लाई असत्य माथि सत्यको विजयका रूपमा लिने गरिन्छ । नवरात्र भरि दुर्गा सप्तसधी र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
आज पनि राजधानीका तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती, भद्रकाली लगायत शक्तिपीठहरूमा दर्शनार्थीहरुको बिहानै देखि भिड लागेको छ ।
यसैगरी राजधानी बाहिरका दाङको अम्बिकेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको मनकामना लगायतका मन्दिरहरु पनि पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ ।
प्रतिक्रिया