काठमाडौं- हेटौँडा अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै

बागमती ।  वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौँडा–काठमाडौं जोड्ने खण्ड अन्तर्गतका सडक यथाशीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा पहिरो पन्छाउने काम भइरहेको छ । 

चाडपर्वमा आवागमन सहज बनाउने उद्देश्यले अवरुद्ध भएका सबै सडक सञ्चालनमा ल्याउन सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीले तीव्रताका साथ पहिरो पन्छाउने काम गरिरहेको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।  

उनका अनुसार  हेटौँडा–काठमाडौं जोड्ने सडकमध्ये हेटौँडा–भैँसे–रातोमाटे खण्ड अन्तर्गत गोल्पिङबेँसीमा ठूलाठूला ढङ्गासहित खसेको पहिरो पन्छाउन चारवटा उपकरणसहित काम भइरहेको छ । यही असोज ११ र १२ गतेको वर्षाले खसेको पहिरो पन्छाएर सो सडक मङ्गलबार सञ्चालन आएकामा केही समयपछि पुनः पहिरो खसेपछि अवरुद्ध भएको प्रजिअ चिलुवालले ताएका छन् । 

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोला सम्मको पहिरो पन्छाइसकिएको जनाउँदै प्र.जि.अ. चिलुवालले इन्द्रसरोवर–२ स्थित बाढीले बगाएको कुलेखानी पुल तीव्रताका साथ निर्माण जानकारी दिए । 

दक्षिणकाली–फर्पिङ खण्ड अन्तर्गत महालक्ष्मी खोलाबाट पाकेलसम्म र पाकेलबाट फर्पिङसम्मको पहिरो पन्छाउन दुईवटा जेसिबीसहित प्रहरीको टोली परिचालन गरिएको भन्दै प्रजिअ चिलुवालले महा लक्ष्मीखोलाको पुल छेउमा बाढीले बगाएको सडक पुनःनिर्माण भइरहेको उल्लेख गरे । बाढीले महालक्ष्मी खोलाको पुलको छेउमा करिब एक सय ५० मिटर सडक बगाएको थियो ।

बाढी पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोले सडक, पुललगायत भौतिक संरचनामा क्षति भएको प्रजिअ चिलुवालले बताए  । त्यहाँका पीडितलाई राहतसामग्री पु¥याउन, सिस्नेरीमा अलपत्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन काठमाडौँ–दक्षिणकाली–सिस्नेरी खण्डको पहिरो पन्छ्याउने काम भइरहेको उनले जानकारी दिए । 

प्रजिअ चिलुवालका अनुसार काठमाडौंबाट सिस्नेरीसम्म सडक एकतर्फी रुपमा सञ्चालनमा आइसकेको छ भने हेटौँडाबाट सिस्नेरीसम्मको सडक खुलाउने प्रयास भइरहेको छ । आपत्कालीन सेवाका लागि हेटौँडा–भीमफेदी–कुलेखानी–कलङ्की–मार्खु र तथा हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं सडक सञ्चालनमा आइसकेको उनले बताए । 

काम तीव्र रुपमा भइरहेकाले केही दिनभित्रै हेटौँडा–भीमफेदी–कुलेखानी–फाकेल–काठमाडौं खण्ड सञ्चालनमा ल्याइने भन्दै कुलेखानीको पुल निर्माण नभएसम्म वैकल्पिक मार्ग बनाउने कार्य भइरहेको प्र.जि.अ. चिलुवालले जानकारी दिए । 

    

     

प्रतिक्रिया