नेपाली लगायत आप्रवासी टोली चढेको गाढीमा मेक्सिकन सेनाले गोली चलाउदा ६ जनाको मृत्यु

काठमाडौं। मेक्सिको र ग्वाटेमालाको सिमानामा नेपालीसहित आप्रवासी सवार ट्रकमा मेक्सिकोको सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बुधबार मेक्सिकोको चियपसस्थित हुक्स्लामा ३३ जना आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो। 

ट्रकमा नेपाल, भारत, पाकिस्तान, क्युबा र इजिप्टका नागरिक रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।  मृत्युको हुनेको राष्ट्रियता भने खुलाइएको छैन ।

मेक्सिकोको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, उक्त घटनामा १० जना घाइते छन् । घटना स्थानीय समयानुसार मंगलबार साँझ ग्वाटेमालाको सीमाबाट ४० किलोमिटर उत्तरमा भएको हो ।

गस्ती गरिरहेको सेनाले तीव्र गतिमा रहेको ट्रक नरोकिएपछि गोली चलाइएको बताइएको छ । गोली चलाउने दुई सैनिकलाई कारबाही गरिएको समेत जनाइएको छ ।

गोली लागेका, चारजनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा अस्पतालमा दुईजनाको मृत्यु भएको हो । अन्य १७ जना भने सुरक्षित रहेको र उनिलाई अध्यागमन कार्यालयमा बुझाइएको मन्त्रालयले जनाएको छ । बाँकी १० घाइतेको को-को हुन् र उनीहरूको अवस्था के छ भनेर पनि सार्वजनिक गरिएको छैन।

ट्रकमा रहेका आप्रवासी मानव तस्करको पछि लागेर अमेरिका जाँदै गरेका अनुमान गरिएको छ ।अवैध बाटोबाट अमेरिका छिर्नेहरूले धेरैजसो उक्त रूट प्रयोग गर्ने गरेको बताइन्छ।

त्यही बाटो हुँदै अवैध वस्तु तस्करी हुने गरेको र त्यसमा आप्रवासीहरूलाई समेत प्रयोग गर्ने गरेको भेटिने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्। 

प्रतिक्रिया