बाढी पहिरोको जोखिम र समाधानका उपायहरु
नेपालमा गत हप्ताको बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । अत्यधिक वर्षा, जसलाई जलवायु परिवर्तनले अझ जटिल बनाएको छ, यो प्राकृतिक बिपत्तिको प्रमुख कारण हो ।
नेपालले सामान्यतया मनसुनको समय (जुनदेखि सेप्टेम्बर) मा वर्षा सामना गर्छ, तर यो वर्ष वर्षा असोजसम्म जारी रह्यो, जसले नदीहरूको जलस्तर अस्वाभाविक रूपमा वृद्धि ग¥यो र बाढीको खतरा थप गहिरो बनायो ।
यो बाढीका कारण हालसम्म २३३ ज्यान गुमाएका छन् भने २२ जना बेपत्ता भएका छन् । १६९ जना घाइते भएका छन् । कतिपय क्षेत्रमा भने बिद्यालय र सार्वजनिक स्थलका संरचना पूर्ण रूपमा ध्वस्त भएको छ । खेतीयोग्य जमीन बगरमा परिणत भएका छन् । विशेष गरी काठमाडौं उपत्यका र आसपासका जिल्लाहरु बाढीको चपेटामा बढी परेका छन् । काठमाडौं उपत्यकाका बागमती, नख्खु, र अन्य नदीहरूमा जलस्तर सामान्य भन्दा धेरै माथि पुगे । त्यो चालिस वर्ष यताकै उच्च भएको जानकारहरुको भनाइ छ । जसले गर्दा बस्तीहरूमा बाढी पस्यो,बस्ती डुवायो,कैयन घरहरु बगायो । बागमती नदीको पानीको सतह २.२ मिटरभन्दा बढीले खतरा तह नाघ्यो । जुन सन् १९७० यताकै सबैभन्दा उच्च हो ।
बाढीको कारण
जलवायु परिवर्तन बाढीको प्रमुख कारणका रूपमा उभिएको छ । मौसमविद्हरूका अनुसार यस वर्ष दक्षिण एशियामा बेङ्गालको खाडी र अरबी सागरबाट आएको अत्यधिक आर्द्रताले भारी वर्षा गराएको हो। यसमा थुप्रिएको आर्द्रताले शक्तिशाली निम्न चापीय प्रणालीको विकास ग¥यो, जसले वर्षालाई अझै तीव्र बनायो। मनसुन परम्परागत समयमा समाप्त नहुँदा नदीहरूको जलस्तर अत्यधिक बढ्न पुग्यो, जसले नेपालमा बाढी र पहिरोको समस्या निम्त्यायो।
यसका साथै, नेपालमा विगत केही वर्षहरूमा भएको तीव्र शहरीकरणले समस्या थप जटिल बनाएको छ। मानव बसोबास विस्तार, ठूला निर्माण कार्य, र कृषि योग्य जमिनहरूमा शहरी बस्तीहरू निर्माण हुँदा बाढीको प्रकोपलाई नीतिगत रूपमा व्यवस्थापन गर्न कठिन भएको छ। पर्यावरण विद्हरूका अनुसार बाढी नियन्त्रणका लागि आवश्यक पूर्वाधारको अभाव, सहरहरूमा जलनिकासी प्रणालीको कमजोर अवस्था, र अव्यवस्थित योजनाले समस्यालाई अझै गहिरो बनाएको छ।
क्षतिको अवस्था
यो बाढी र पहिरोको चपेटामा परेर अहिलेसम्म २३३ जना मानिसहरूको मृत्यु भइसकेको छ भने १६९ जना घाइते भएका छन्। २२ जना मानिस अझै बेपत्ता रहेका छन्, जसको खोजी कार्य जारी छ। बाढीका कारण सवारीसाधन, सडक, र अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ। काठमाडौंलाई अन्य क्षेत्रसँग जोड्ने महत्वपूर्ण राजमार्गहरू जस्तै पृथ्वी राजमार्ग,बी.पी. राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यसले सहरको यातायात प्रणालीमा ठूलो अवरोध खडा गरेको छ, जसका कारण धेरै यात्रु फसेका छन्। राजमार्गमा यात्रुहरु अलपत्र छन् ।
बाढीले बस्तीहरूमा पानी पसेर मानिसहरूलाई घर छोड्न बाध्य बनाएको छ ।
काठमाडौंमा मात्रै थुप्रै मानिसहरूले छतबाट छतमा हाम फालेर आफ्नो ज्यान जोगाउनुपरेको थियो। कतिपय मानिसहरूको मृत्यु बाढीको कारण सडकमै भएको छ, जहाँ पहिरोले सडकहरू अवरुद्ध गरिदिएको छ। बाढी र पहिरोले गर्भवती महिला र साना बालबालिकाको पनि ज्यान गएको छ। विशेष गरी, भैरहवामा पहिरोमा परी एक गर्भवती महिला र चार वर्षकी बालिकाको मृत्यु भएको छ । धादिङको झ्याप्ले खोलामा तीनवटा सवारी साधन पुरिँदा ३५ जनाको ज्यान गयो । सिन्धुली, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा ठूलो धनजनको क्षति भयो ।
सरकारी प्रयास र उद्धार कार्य
सरकारले बाढी पहिरोबाट प्रभावित व्यक्तिहरूलाई उद्धार गर्नका लागि सुरक्षा निकायहरूको व्यापक परिचालन गरेको छ । तर सोचे अनुसार काम हुन सकेन । सरकारी तयारी भन्दा यस पटकको बाढी पहिरो धेरै ठूलो थियो ।यद्यपि नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरीका ३ हजार सुरक्षाकर्मीहरूलाई उद्धार र राहत कार्यमा खटाइएको छ। पानीमा फसेका व्यक्तिहरूलाई बचाउन हेलिकप्टर, रबर बोट, र अन्य साधनहरूको प्रयोग भइरहेको छ। उद्धार कार्यका साथै बाढी प्रभावित क्षेत्रहरूको सफाई र मर्मतसम्भार पनि सुरु गरिएको छ।
कुनै पनि आकस्मिक प्राकृतिक प्रकोपमा राहत र उद्धार कार्यको लागि द्रुत प्रतिक्रिया दिन आवश्यक हुन्छ। त्यसैले, सरकारले बाढीबाट प्रभावित क्षेत्रमा रहेका स्कुल र कलेजहरू तीन दिनका लागि बन्द गर्यो । विद्यार्थीहरू र अभिभावकहरूलाई अव्यवस्थित यातायात र क्षतिग्रस्त पूर्वाधारका कारण पठनपाठनमा कठिनाई परेको छ। साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कैयन उडान रद्द भए । जसले यात्रीहरूलाई पनि ठूलो असुविधा पुर्याएको छ।
पूर्वाधार र वातावरणीय असर
नेपालको भौगोलिक अवस्था र शहरीकरणका कारण बाढीको प्रकोप बढी मात्रामा हुने गरेको छ। नेपाल जस्तो हिमाली देशमा उचित पूर्वाधार र बाढी नियन्त्रणको उपाय नहुँदा जनजीवनमा बारम्बार समस्या सिर्जना भएको मात्रै भएको छैन । वार्षिक ठूलो धनजनको क्षति हुने गरेको छ । पर्यावरण विद्हरूका अनुसार, बाढी नियन्त्रणका लागि “ग्रे“ र “ग्रीन“ पूर्वाधारको विकासमा तुरुन्त ध्यान दिन आवश्यक छ। यसमा भूमिगत जलनिकासी प्रणाली, शहरमा बाढी नियन्त्रणको लागि वनस्पतिको संरक्षण, र निर्माण कार्यमा हरियाली प्रविधिको प्रयोग महत्वपूर्ण मानिएको छ।
विशेषगरी, बाढी प्रभावित क्षेत्रहरूमा स्थानीय सरकारले बाढी नियन्त्रणका लागि पर्याप्त कदम नचालेको भन्दै पर्यावरणविद्हरूले आलोचना गरेका छन् । उनीहरूले शहरी क्षेत्रमा अव्यवस्थित बसोबास र पूर्वाधारको कमजोर अवस्थालाई बाढीको मुख्य कारणका रूपमा औंल्याएका छन्। ठूलो बाढीको सामना गर्नका लागि शहरी क्षेत्रमा राम्रो योजना र लगानीको खाँचो रहेको छ।
आगामी चुनौतीहरू
यो प्राकृतिक विपत्तिले नेपाललाई ठूलो आर्थिक र मानवीय क्षति पुर्याएको छ। धेरै परिवार विस्थापित भएका छन् र उनीहरूको घरबास पूर्ण रूपमा नष्ट भएको छ। बाढीले कृषि क्षेत्रमा पनि ठूलो असर पुर्याएको छ, जसले आगामी महिनाहरूमा खाद्यान्नको अभाव निम्त्याउने चिन्ता बढाएको छ। नेपालजस्तो कृषि प्रधान देशमा कृषि प्रणालीलाई पुनर्स्थापित गर्न धेरै समय लाग्न सक्छ, जसले गर्दा ग्रामीण क्षेत्रहरूमा जीविकाका लागि संकट निम्त्याउन सक्छ।
सरकारले विपत्तिको प्रभावलाई न्यून गर्नका लागि तत्कालीन राहत योजना ल्याउनु पर्नेछ। साथै, दीर्घकालीन रूपमा जलवायु परिवर्तनसँग जुध्नका लागि नेपालको पूर्वाधार विकासमा ठोस कदमहरू चाल्नुपर्ने आवश्यकता छ। विपत्तिले जलवायु परिवर्तनको असरलाई अझ स्पष्ट रूपमा उजागर गरेको छ, र अबको दिनमा त्यस्ता विपत्तिहरूसँग जुध्न राष्ट्रव्यापी योजनाहरूको विकासमा ध्यान केन्द्रित गर्नुपर्ने छ।
अन्त्यमा, नेपालका बाढीहरू केवल प्रकृतिक कारणले मात्रै नभई, मानवीय गल्तीहरू पनि यसको ठूलो हिस्सा हुन्। जलवायु परिवर्तनको सामना गर्दै, पूर्वाधारको सुधार र योजनाबद्ध विकासले मात्र दीर्घकालीन समाधान दिन सक्छ ।
प्रतिक्रिया